काठमाण्डौ । प्राणघात कोरोनाभाइरसका कारण चीनबाट पार्टपुर्जा आपूर्ति प्रभावित हुँदा शुक्रबारदेखि विश्वकै सबैभन्दा ठूलो दक्षिण कोरियाको कार निर्माता कम्पनी ह्युन्डईको कार प्लान्टहरु पाँच दिनका लागि बन्द गरिएका छन् ।

दक्षिण कोरियाको उल्सान सहरस्थित ह्युन्डईको कार प्लान्टहरु बन्द गरिएका हुन् । उल्सानमा ह्युन्डईका पाँचवटा कार प्लान्ट छन् । यी प्लान्टबाट बर्षेनि १४ लाख कार उत्पादन हुँदै आएका छन् । 

कोरोनाभाइरस रोकथामको कोशिशका लागि चीनस्थित पार्टपुर्जा आपूर्तिकर्ता प्लान्ट बन्द भएपछि ह्युन्डई कम्पनीका प्लान्टहरु बन्द भएका हुन् । 

ह्युन्डई कम्पनीलाई अहिले वायरिङ हार्नेस अभाव भएको छ । वायरिङ हार्नेस कारमा जटिल इलेक्ट्रोनिक्स जोड्ने काममा प्रयोग हुन्छ । 

प्लान्ट बन्द भएसँगै कम्पनीले जबरजस्ती आफ्ना २५ हजार कर्मचारीलाई छुट्टी दिएको छ । यी कर्मचारीले तलब पनि पाएका छैनन् । 

प्लान्टहरु पाँच दिन बन्द हुँदा ह्युन्डई कम्पनीलाई ५० करोड डलर नोक्सानी हुने अनुमान गरिएको छ । 

आधिकारिक निकायका अनुसार हालसम्म यो भाइरसबाट ६३६ जनाको ज्यान गइसकेको छ भने ३१ हजारभन्दा बढी मानिस प्रभावित छन् ।