काठमाण्डौ । विश्वका कयौं खर्बपतिहरु खर्चिलो स्वभाव र आलीसान जीवनशैलीका लागि प्रख्यात छन् । नेपालका पहिलो डलर अर्बपति विनोद चौधरी, तथा अन्य धनाढ्य अर्बपति उद्योगीहरुको जीवनशैली, उनीहरु बस्ने घर, प्रयोग गर्ने गाडीको समेत निकै ठूलो चर्चा हुने गर्छ । विभिन्न देशका कयौं चर्चित उद्योगपतिहरु करोडौं रुपैयाँको प्राइभेट जेटमा सफर गर्छन् । आफ्ना छोराछोरीको विवाहमा करोडौं खर्च गर्न पनि तयार हुन्छन् । विदेशमा घुम्नका लागि पैसा पानी पोखे झै बेफिक्री खर्च गर्छन् । 

तर, विश्वमा केही यस्ता अर्बपति छन् जो आफ्नो कञ्जुसीकै कारण विश्वमाझ चर्चित छन् । यी अर्बपतिहरुले एकपैसा पनि फजूल खर्च गर्दैनन् । कतिपय अर्बपति त यस्ता छन्, जो आजको दिनमा समेत निकै पुरानो र सेकेण्ड ह्याण्ड कार प्रयोग गर्छन । त्यस्ता कञ्जुस अर्बपति वर्षौ बर्ष आफ्नो पुरानो घरमै बस्न रुचाउँछन् भने ड्राइभर राख्दा तलब दिनुपर्ने लोभले कार समेत आफैं चलाउँछन् । 

इंग्वार केम्पमर्ड


विश्वचर्चित स्वीडीस कम्पनी आईकियाका मालिक हुन् इंग्वार केम्पमर्ड । उनको सम्पत्ति ६ अर्ब डलर रहेको छ । उनी विश्वकै सबैभन्दा कञ्जुस अर्बपतिको रुपमा चिनिन्छन् । उनी अहिले पनि सेकेण्ड ह्याण्ड र पुरानो कार चढ्छन् र ड्राइभरलाई तलब दिनुपर्छ भनेर कार पनि आफैं चलाउँछन् । हवाइजहाजमा समेत अहिले पनि इकोनोमी क्लासमै यात्रा गर्छन् । यी अर्बपति स्वीडेनको जुन गाउँमा बस्छन्, त्यहाँ उनी कञ्जुस अंकलको उपनामले चर्चित छन् । उनको सम्पत्ति कुनै समयमा २६ अर्ब डलरसम्म पुुगेको थियो । 

गेरी हार्वी


हार्वी निकै चर्चित अस्टेलियाई विजिनेशमेन हुन् । उनको सम्पत्ति ८७ करोड डलर रहेको छ । उनी यति धेरै कञ्जुस छन् कि आफ्ना लागि नयाँ जुत्ता खरीद गर्नुपर्यो भने पनि त्यसको योजना बनाउन वा सोच्न मात्र उनलाई २ महिना समय लाग्छ । एक समय त उनले भाषण गर्ने क्रममा पोडियममा आयोजकले राखेको नोटप्याड नै लिएर हिँडेका थिए, कारण उनी आफ्नो हरेक खर्च कम होस् भन्ने चाहन्छन् । 

वारेन बफेट


बफेट विश्वकै सेयर बजारका बादशाह हुन् । उनी निकै सफल लगानीकर्ता समेत हुन् । सेयरमा लगानीका लागि उनका टिप्सहरु विश्वका अरबौं लगानीकर्ता हरेक समय पढिरहेका हुन्छन् । उनी विश्वकै चौथो धनी व्यक्ति पनि हुुन् । उनको सम्पत्ति ६० अर्ब डलर रहेको छ । उनी पनि विश्वका कञ्जुस अर्बपतिमध्येका एक हुन् । उनी सधैं कार किन्दा सेकेण्ड ह्याण्ड नै किन्छन् । उनलाई कहिल्यै पनि स्पेशल खाना खाँदै गरेको अहिलेसम्म कसैले देखेको छैन । उमेर ८० वर्ष माथि पुगिसक्दा समेत चालक राख्दा पैसा दिनुपर्छ भनेर कार आफैं कुदाउँछन् । सन् १९५८ मा उनले ३१ हजार डलरमा एक खरीद गरेका थिए, आज पनि उनी त्यही घरमा बस्छन् । 

जोन कडवेल


कडवेल निकै चर्चित र सफल ब्रिटिस विजिनेशम्यान हुुन् । उनीसँग २.४ अर्ब डलर सम्पत्ति रहेको छ । यी त झनै कञ्जुस विजिनेश म्यान हुन् । आजको दिनमा पनि उनी आफ्नो घरबाट १७ माइलको दूरीमा रहेको अफिस साइकलमा जान्छन् । पैसा खर्च हुन्छ भनेर आफ्नो कपाल आफैं काट्छन् । सोरुमा गएर उनी जुनमा बढी छुटको अफर दिइएको हुन्छ, त्यस्ता लत्ताकपडा मात्र छान्ने गर्छन् ।