काठमाण्डौ । विश्वको सबैभन्दा चतुर लगानीकर्ता को होला ? धेरैको उत्तर हुनसक्छ ः वारेन बफेट, जेफ बेजोस, एलन मस्क, बिल गेट्स, मुकेश अम्बानी वा यस्तै यस्तै । तर, विगत केही दिनदेखि सामाजिक सञ्जालमा विश्वकै चतुर लगानीकर्ताको रुपमा जेफ बेजोसकी पूर्व पत्नी मेकेञ्जी बेजोसलाई प्रस्तुत गर्ने लहर नै चलेको छ । 

हुन पनि मेकेञ्जीले जेफसँग डिभोर्स गरेसँगै करिब ४००० अर्ब सम्पत्ति पाएकी छिन् । यो सम्पत्तिसँगै मेकेञ्जी विश्वकै तेश्रो धनी महिला बन्न सफल भएकी छिन् । 

मेकेञ्जीलाई उद्धृत गर्दै फोब्र्सले जनाएअनुसार विश्वकै लोकप्रियम इकमर्स कम्पनी अमेजनको २५ प्रतिशत सेयर उनले पाएकी छिन् । यो भनेको कुल कम्पनीको ४ प्रतिशत बराबरको हिस्सेदारी हो । 

तर उनले यो पनि प्रष्ट पारेकी छिन् कि आफूले प्राप्त सेयरमा भोटिङ कन्ट्रोल भने जेफकै रहेनछ । 

यो वर्षको जनवरीमा बेजोस दम्पत्तिले आफ्नो २५ वर्षे लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने घोषणा गरेका थिए । 

विश्वकै सबैभन्दा धनी जेफ(५५) को मेकेञ्जी(४८)सँग ९० को दशकको सुरुवातमै विवाह भएको थियो । दुवै त्यसबेला न्युयोर्कस्थित एक हेज फण्ड कम्पनीमा काम गर्थे । 

विवाहपछि जेफले अमेजन कम्पनी स्थापना गरेका थिए । जेफ बेजोस विश्वभरमा निकै कुशल व्यवस्थापकीय गुरुको रुपमा मानिन्छन् । तर, विश्वमै कुशल व्यवस्थापकको रुपमा चिनिने बेजोसले आफ्नै निजी सम्बन्ध र जीवन भने व्यवस्थित बनाउन सकेनन् ।

मेकेञ्जीले ट्वीट गर्दै भनेकी छिन्-'म वासिंग्टन पोस्ट, ब्लु ओरिजिन र अमेजनको ५ प्रतिशत सेयर र त्यसमा भोटिङ कन्ट्रोल छाडेर खुशी छु । मैले यो फैसला जेफलाई यी अविश्वसनीय कम्पनीलाई राम्रोसँग चलाउन सहज भनेर गरेकी हुँ ।' 

मेकेञ्जीसँग अब करिब २६ बिलियन डलर मूल्यको अमेजनको सेयर हुनेछ । अमेजनको यही सेयरका कारण उनी विश्वकी तेश्रो धनी महिला बन्न सकेकी हुन् । 

आफ्नी पूर्व पत्नीलाई यति धेरै रकम दिएर समेत जेफ बेजोस विश्वकै धनी व्यक्तिकै रुपमा रहेका छन् । 

संसारकै महंगो यो डिभोर्सको कुशल व्यवस्थापन भएकोमा विश्वका कैयन बेजोसका फ्यानहरुले खुशी समेत व्यक्त गरेका छन् ।