काठमाण्डौ । विश्वमा कुनै एउटा यस्तो शहर पनि छ, जहाँ भाडाको कोठा वा घर पाउन ९ वर्षसम्म लाग्नसक्छ भन्दा तपाईलाई पत्यार लाग्छ ? सायद लाग्दैन । तर यस्तो शहर यूरोपमा छ । स्वीडेनको राजधानी स्टकहोम यस्तो शहर हो, जहाँ भाडाको घर वा कोठा खोज्नु भूसको डंगुरमा हराएको सीयो खोजेजस्तै गाह्रो कुरा हो । यहाँ सामान्य घर भाडामा पाउन मात्र कतिपयले ९ वर्षसम्म कुरेका छन् । 

स्टकहोम विश्वकै उत्कृष्ट, आधुनिक, सुविधासम्पन्न र प्राकृतिक रुपमा मनोरम शहर हो । यो शहरमा आएर बस्ने विश्वका धेरै मानिसले सपना सँगालेका हुन्छन्, तर यहाँ आएर बस्न त्यति सजिलो भने छैन । तपाईंले यो क्षेत्रमा रोजगार पनि सजिलै पाउनुहोला, तर यहाँ आएर बस्ने भाडाको घर पाउनु ढुंगाको चिउरा चपाएभन्दा गाह्रो काम हो । 

यहाँ भाडाको घर पाउन कम्तीमा ९ वर्षसम्म लाग्न सक्छ । तर यही शहरको कुनै लोकप्रिय र सुन्दर मानववस्तीमा बस्ने तपाईंले  निर्णय लिनुभयो भने त्यस्तो ठाउँमा कोठा पाउन त तपाईले २० वर्षसम्म कुर्नुपर्ने हुन्छ । भाडाको घर पाउनका लागि २० वर्षसम्म कुर्नुपर्ने भएकोले यो बिषयलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गर्ने तयारी समेत भइरहेको छ । 

वर्तमान समयमा स्टकहोम यूरोपकै सबैभन्दा सुन्दर र वैभवशाली शहरको रुपमा स्थापित छ । यो शहरले आफूलाई तीव्र गतिमा प्रगति पथमा अगाडि बढाएको छ । यही कारण यो क्षेत्रमा बस्नैका लागि समेत धेरैले अपहत्ते गर्छन । तर यस्ता सपना सँगाल्नेहरुका लागि साझे फ्ल्याट खोज्न पनि महिनौ लाग्छ । 

विश्वकै उत्कृष्ट शहर भएकोले यो क्षेत्रमा बस्न आउने र यहाँ व्यापार गर्ने ठूला मल्टिनेशन कम्पनीहरुको समेत यहाँ भीड लाग्छ । शहरप्रतिको आकर्षणका कारण आगन्तुहरुको संख्या बढिरहेकै कारण यहाँ अधिक जनसंख्या भई कोठा भाडा समेत पाउन मुश्किल भएको हो । यो शहरमा भित्रिरहेको जनसंख्याको तुलनामा यहाँ बनेका आवासका संरचना भने निकै कम छन् । जसका कारण भाडाको घर वा कोठा पाउन ९ वर्षसम्म न्यूनतम कुर्नुपर्ने बाध्यता छ । 

ठूला ठूला भवन बनाउनु पर्दा पालना गर्नुपर्ने कडा नियम, हाउजिङ क्षेत्रको लगानीमा आइरहेको मन्दी लगायतका कारणले यहाँ नयाँ भवनहरु बन्न छाडेका छन् । यहीको जनसंख्याका लागि आवास सुविधा यहाँका भवनबाट प्राप्त नभइरहेको अवस्थामा बाहिरियाहरु समेत बढेपछि समस्या थपिएको हो । 

हालै विश्वचर्चित संगीत कम्पनी स्पटीफाईले शहर प्रशासनलाई पत्र लेख्दै भनेको छ कि आवासकै समस्याका कारण उसले आफ्नो कम्पनीलाई बिस्तार गर्न पाइरहेको छैन । यदि प्रशासनले अवस्थालाई सुधार गर्न तत्काल कुनै कदम नचाले आफूहरुले आफ्नो मुख्यालय स्टकहोमबाट अन्यत्रै सार्ने सो कम्पनीले चेतावनी नै दिएको छ । 

फ्रान्सबाट यहाँ आएर बसेकी माएवा स्केलरले स्टकहोममा बस्न निकै आनन्ददायक भए पनि आफूले पछिल्लो ७ वर्षमा ९ पटकसम्म घर परिवर्तन गर्नुपर्यो । यही कारण स्केलर स्टकहोम छाड्ने सोंचमा छिन्, यो क्षेत्रमा घर खरीद गर्न पनि उनलाई मन छैन । कारण यहाँ घर खरीद गर्न त झनै महंगो मूल्य चुकाउनु हो । पछिल्लो एकवर्षकै अवधिमा घरको मूल्यमा १४ प्रतिशतको बढोत्तरी देखिएको थियो । उनीजस्तै यहाँ आएर बस्ने अधिकांश विदेशीहरु यही सोंच राख्ने गर्छन । 

स्केलरका अनुसार बाहिरबाट आएका हजारौ मानिसहरु स्टकहोममा काम गरिरहेका छन् । यदि उनीहरुलाई २४ सै घण्टा बस्ने कुराकै चिन्ता भयो भने उनीहरुले कसरी आफ्नो काम ध्यान दिएर गर्लान ?

हुन त स्टकहोममा घरभाडाको नियम भाडावालहरुको पक्षमा छ । जोसँग आफ्नो घर छैन उसका लागि सरकारी दररेटमै यहाँ घर भाडामा पाइन्छ । भाडा बस्नका लागि तपाईले सरकारी नियम अनुसार एकपटक लिज सम्झौता गर्नुभयो भने जीवनभरि त्यो घर तपाईंकै हुन्छ । तर यहाँको ठूलो समस्या नै भनेको बेला कोठा वा घर नपाउनु हो । वर्तमान समयमा यहाँ भाडाको घरमा पाइने आशामा करिब ५ लाख मानिस प्रतिक्षा गरिरहेका छन् । 

बाहिरबाट आएर स्टकहोममा बस्दै आएका अर्का पात्र हुन् जोस लागोस । उनी आफूलाई निकै भाग्यमानी ठान्छन्, तर कारण उनले सन् २००३ मै एक भाडाको घर पाएका थिए । उनी शहरको पुरानो इलाकातर्फ बस्ने गर्छन । जहाँ निकै हरियाली छ र अन्य सबै खालको सेवा सुविधा पनि वरिपरि नै  छन् । तर दिक्कलाग्दो कुरा यो छ कि उनको फ्ल्याट नै निकै सानो र साँघुरोछ । मात्र एउटा कोठा र किचन मात्र छ । उनी यो भन्दा ठूलो घर भाडामा लिन चाहन्छन, तर त्यसका लागि उनले निकै लामो प्रतिक्षा गरिसकेका छन् । 

पहिलादेखि नै भाडामा बस्नेहरुले कोठा वा घर छाडे उनीहरुमार्फत नव प्रवेशएले यहाँ भाडाको घर र कोठा पाउन सक्छ । तर यदि घरवालासँग गएर सम्झौता गरे त्यसको अवधि  अधिकतम १ वर्ष मात्र हुन्छ । अर्कोतर्फ कतिपय घरधनी आफू केही वर्षका लागि बाहिर जानु परेमा मात्र आफ्नो घर अरुलाई भाडामा दिन तयार हुन्छन् । 

स्टकहोमको भाडा दर पनि औधी महंगो छ । ६६ वर्ग मिटरको फ्ल्याटलाई ७८३ डलर मासिक तिर्नुपर्छ । भाडाको घरलाई तेश्रो व्यक्ति बनेर फेरि भाडामै लिनु अझ महंगो पर्न जाान्छ । तर अधिकांश मानिस यो सौदाबाजी ब्ल्याकमा गर्छन । 

भाडाको घर वा कोठा नपाइने समस्याकै कारण पछिल्लो समय स्टकहोम आएर मानिस नोकरी गर्न छाडेका छन् । यसको प्रत्यक्ष असर यहाँ व्यापार जमाइरहेका कम्पनीहरुलाई परेको छ । स्वीडेनका कम्पनीहरुको एक संस्थाका अनुसार यहाँका ६१ प्रतिशत कम्पनीहरुले नयाँ कामदार नपाउने समस्या भोगिरहेका छन् । यो समस्या भविष्यमा अझ बढी विकराल हुने संभावना बढेर गएको छ । 

ठूला कम्पनीले एजेन्टमार्फत आफ्ना कर्मचारीहरुलाई भाडाको घरको व्यवस्था गर्ने गर्छन भने सानो कम्पनीसँग एजेन्ट परिचालन गर्ने हैसियत हुँदैन, जसका कारण यस्तो कम्पनीको कर्मचारी कयौं दिन घरविहीन भएर भौतारिनुपर्ने हुनसक्छ । 

यसैबीच, घर भाडामा नपाइने समस्या विकराल बन्दै गएपछि स्टकहोम प्रशासनले बस्ती बसाउनका लागि भवन बनाउने काम सुरु गरेको छ । सरकारी मद्धतबाट करिब ४० हजार नयाँ अपार्टमेन्ट बनाइनेछ । सन् २०३० सम्म यसलाई बढाएर डेढलाख पुर्याउने सरकारी योजना छ । तर यी अपार्टमेन्ट बन्न समय लाग्छन, त्यसबेला सम्म यहाँको भाडामा घर नपाउने समस्याले अझ विकराल रुप लिनसक्छ । तर कतिपयले भने स्टकहोममा मानव वस्ती बिस्तार गर्ने र ठूला अपार्टमेन्ट बनाउने नाममा यहाँको प्राकृतिक सुन्दरतालाई बिगार्ने काम गर्न नहुने तर्क पेश गरिरहेका छन् । स्थानीय प्रशासनले तत्कालको समस्या समाधानका लागि सामूहिक रुपमा बस्न मिल्ने मोड्यूलर होमको अवधारणा अगाडि सारिरहेको छ । 
(बिजशाला / बीबीसी)