काठमाण्डौ । आर्थिक असमानताको समस्या विश्वभरि नै फैलँदो छ । विश्वका प्रत्येक देशहरुमा सीमित धनाढ्यहरुको कब्जामा ५० प्रतिशत भन्दा बढी धनसम्पत्ति रहेको छ । गरीब दिनप्रतिदिन गरीब बनिरहेका छन् भने धनी झनै धनी हुने असमान आर्थिक परिवेशको विकास हुँदै गएको छ । 

पछिल्लो एक मिडिया रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै असमानता भएको देश रुस हो । वेल्थ रिसर्च फर्म न्यू वल्र्डको एक रिसर्चका अनुसार रुसका धनाढ्यहरुको हातमा सो देशको ६२ प्रतिशत बढी धन रहेको छ । रिपोर्टका अनुसार अति असमान देशको सूचिमा ती देशहरु परेका छन्, जहाँका धनाढ्यहरुको कब्जामा सम्बद्ध देशको ५० प्रतिशत भन्दा बढी धनसम्पत्ति रहेको देखियो । 

यो अध्ययनमा व्यक्तिगत धनको मतलब सम्बद्ध व्यक्तिसँग रहेको सम्पत्ति, प्रोपर्टी, नगद र विजिनेश इण्डष्ट्रीलाई परिभाषित गरिएको छ । 

धेरै असमानता भएको दोश्रो देशको सूचिमा भारत छ । भारतमा देशसँग रहेको कुल सम्पत्तिको ५४ प्रतिशत धन निश्चित धनाढ्यहरुको हातमा रहेको देखिएको छ । भारत विश्वका धेरै १० धनी देशको सूचिमा पनि सामेल छ । 

रिपोर्टका अनुसार धनी र गरीबबीचको असमानताको मामलामा जापान विश्वमै धेरै समानता भएको देश हो । जापानमा त्यहाँको धनाढ्यहरुको कब्जामा देशको कुल सम्पत्तिको मात्र २२ प्रतिशत सम्पत्ति रहेको छ । समानतामा जापानपछि दोश्रो नम्बरमा अस्ट्रेलिया परेको छ । अस्ट्रेलियाका निश्चित व्यक्तिहरुको साथमा देशको २६ प्रतिशत धन रहेको छ । 

मिडिया रिपोर्टका अनुसार अमेरिका र इङ्ग्ल्याण्डको अवस्था समेत सन्तोषजनक नै छ । अमेरिकामा निश्चित धनाढ्यहरुको साथमा देशको कुल सम्पत्तिको ३२ प्रतिशत र इङ्ग्ल्याण्डका धनाढ्यहरुको कब्जामा ३५ प्रतिशत सम्पत्ति रहेको छ । 

अर्बपतिमा पनि रुस नै अगाडि !
अर्बपतिहरुबीचको असमानताको बिषयमा समेत रुस नै पहिलो नम्बरमा परेको छ । अर्बपतिबीचको समानताको मामलामा चाहि जापान नै अगाडि देखिएको छ । रुसमा अर्बपतिहरुको हातमा कुल २६ प्रतिशत धन रहेको छ भने जापानका अर्बपतिहरुको हातमा देशको कुल ३ प्रतिशत धन मात्र रहेको छ । यो अध्ययनको क्रममा अर्बपतिको सूचिमा ती व्यक्तिहरुलाई राखिएको थियो, जसको साथमा १०० करोड डलर सम्पत्ति रहेको छ ।