काठमाण्डौ । विश्वभर सार्वजनिक तथा निजी कर्जा जसरी तीव्र रुपमा वृद्धि हुँदै  गएर रेकर्डको स्तरमा पुगेको छ, यसबाट वैश्विक मन्दीको खतरा मडारिन थालेको  विज्ञहरुले बताउन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)का अनुसार वैश्विक कर्जा बढेर १६४ ट्रिलियन डलर अर्थात १६४ लाख करोड डलरको नयाँ रेकर्ड कायम गर्दै नयाँ उचाईमा पुगेको  छ । 

आइएमएफले चेतावनी दिंदै भनेको छ कि  बढ्दो वैश्विक कर्जाको यो गति निकै खतरनाक र घातक रहेको  छ, यसले बित्तीय अवस्था बिग्रिएपछि तमाम देशहरुका लागि आफूले लिएको कर्जा चुकाउन हम्मे हम्मे पर्नेछ  र यसैका कारण विश्व निकै ठूलो आर्थिक मन्दीको चपेटामा पर्नसक्नेछ ।

ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार अहिले बढ्दो क्रममा रहेको कर्जा नै निकट भविष्यमा आउनसक्ने गम्भीर बित्तीय संकटको मुख्य कारण बन्नसक्छ ।

आइएमएफले प्रत्येक ६  महिनामा फिस्कल मनिटर रिपोर्ट जारी गर्छ र उसले यो पटक बुधबार सो रिपोर्ट सार्वजनिक गरेको  हो । 

रिपोर्टका अनुसार सन् २०१६ मा ग्लोबल पब्लिक तथा  प्राइभेट कर्जा बढेर आफ्नो सर्वकालिक उच्चस्तरमा पुगिसकेको छ । कर्जा यति धेरै बढिसकेको छ कि यो विश्वको जीडीपीको २२५ प्रतिशत पुगिसकेको छ । यसअघि सन् २००९ मा  वैश्विक कर्जा उच्च स्तरमा रहेको थियो ।

आइएमएफका फिस्कल अफेयर्स डिपार्टमेन्टका प्रमुख विटोर गेस्परले एक अन्तर्वार्तामा भनेका छन्–‘१६४ ट्रिलियन डलरको तथ्याङ्क एक निकै ठूलो संख्या हो । यदि हामीले आसन्न जोखिमको कुरा गर्ने हो भने त्यसमध्ये एउटा पब्लिक तथा प्राइभेट कर्जाको उच्च स्तर हो ।’

विश्वभरका देशहरुमध्ये सबैभन्दा बढी चीनमा निजी कर्जा तीव्र रुपमा बढिरहेको छ । विश्वभरको कुल निजी खर्चको करिब ३ चौथाई हिस्सा त मात्र चीनको रहेको छ । 

आइएमएफको रिपोर्टमा भनिएको छ कि धेरै कर्जाले देशहरुको  खर्च बढाउने क्षमतामा निकै गम्भीर असर पर्नेछ । यसबाट उनीहरुको विकास दर प्रभावित हुनेछ भने मन्दीको भयावह अवस्था समेत आउनसक्छ ।

आइएमएफले विश्वका देशहरुलाई आफ्नो फिस्कल डेफिसिट(वार्षिक घाटा)लाई लिएर निर्णायक कदम उठाउन सुझाव दिएको छ । कोषले अमेरिकासँग आग्रह गरेको छ कि उसले वार्षिक बजेट नीतिमाथि पुनरविचार गरोस् । अमेरिकाको वार्षिक बजेट घाटा जसरी बढिरहेको छ, त्यो हिसाबले सन् २०२० मा यो १ ट्रिलियन डलर अर्थात १ लाख करोड डलरको  उचाईमा पुग्नसक्छ ।

आइएमएफका अनुसार कैयन प्रमुख अर्थव्यवस्थाहरुमा कुल कर्जा तथा जीडीपीको अनुपात खतरनाक स्तरमा पुगिसकेको छ । प्रमुख अर्थव्यवस्थामा करिब एक तिहाईको  कर्जा उनीहरुको जीडीपीको आकार भन्दा ८५ प्रतिशत बढी रहेको छ । यो आँकडा सन् २००० को आँकडा भन्दा तीनगुणाले बढी हो । 

प्रमुख अर्थव्यवस्थाहरुमध्ये कर्जा तथा जीडीपीको अनुपातको मामलामा सबैभन्दा माथि जापान रहेको छ । गत वर्षको उसको कर्जा तथा जीडीपीको अनुपात २३६ प्रतिशत रहेको थियो । दोश्रो नम्बरमा इटली रहेको छ, जहाँ कर्जा जीडीपीको १३२ प्रतिशत रहेको छ । तेश्रो नम्बरमा अमेरिका रहेको छ, जसको कर्जा उसको जीडीपीको १०८ प्रतिशत रहेको छ । चीनको यस्तो अनुपात ४७.८ प्रतिशत रहेको छ ।