काठमाण्डौ । विश्वभर अहिलेसम्म सार्वजनिक भएका कोरोना संक्रमणका मामिलामध्ये आधाभन्दा बढी पाँचवटा मुलुकमा देखिएका छन्।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोनाबाट ७० लाख बढी मानिस संक्रमित भएका छन्। जसमा कोरोनाबाट अतिप्रभावित अमेरिकामा मात्रै १९ लाख बढी मानिस संक्रमित भएका छन्। अमेरिका संक्रमित र ज्यान गुमाउनेको संख्याका हिसाबले अग्र स्थानमा छ। 
त्यस्तै दोस्रो स्थानमा ब्राजिल छ। जहाँ ७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। 

यसैगरी रुसमा ४ लाख ६७ हजार बढी, बेलायतमा २ लाख ८७ हजार ६०० बढी र भारतमा २ लाख ५७ हजार ४०० बढी मानिस संक्रमित भइसकेका छन्। यो हिसाबले यी पाँच मुलुकमा ३५ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन्। जुन कुल संक्रमित संख्याको आधाभन्दा बढी हो। 

विशेषज्ञहरुले भने ब्राजिल र भारतमा टेस्टिङ निकै कम भएकोले ती मुलुकमा संक्रमितको संख्या अझ बढी हुन सक्ने बताएका छन्। किनकि अमेरिकाको जनसंख्या ३३ करोड रहेको छ तर त्यहाँ १९ लाख बढी मानिस संक्रमित भइसकेका छन्। 

उता भारतको जनसंख्या १३० करोड रहेको छ। तर संक्रमितको संख्या केवल साढे २ लाखभन्दा माथि रहेको छ। त्यसैले अमेरिकाको तुलनामा भारतमा टेस्टिङको दायरा कम भएको हुन सक्ने विशेषज्ञहरुको अनुमान छ। – एजेन्सी