काठमाण्डौ । विश्वभर दैनिक कोरोना संक्रमित थपिने संख्यामा आइतबार नयाँ रेकर्ड कायम भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर २ लाख ३० हजार ३७० नयाँ कोरोना संक्रमण फेला परेका छन्। यो विश्वभर एकैदिन फेला परेका कोरोना संक्रमणको संख्या हालसम्मकै उच्च हो।

यसअघि गत जुलाई १० मा विश्वभर एकैदिन धेरै संक्रमित फेला परेको रेकर्ड कायम भएको थियो। यो दिन विश्वभर २ लाख २८ हजार १०२ जना संक्रमित फेला परेका थिए। 

यो भाइरसबाट हालसम्म विश्वभर १ करोड २९ लाख ४४ हजार ३३७ जना संक्रमित भइसकेका छन्। तीमध्ये ७५ लाख ४३ हजार ३१७ जना ठिक भइसकेका छन् भने ५ लाख ६९ हजार ३४७ जनाको ज्यान गइसकेको छ। – एजेन्सी