-डा. देवराज क्षेत्री 
कोविड-१९ बाट विश्व आक्रान्त बनिरहेको यो विषम परिस्थितिमा अर्को ठूलो समस्या आउने देखिन्छ, त्यो हो बेरोजगारी। लाखौं नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ। तसर्थ नेपालमा जनसंख्याको चाप बढ्ने देखिन्छ। 

नेपाल फर्कने नेपालीहरु अब के गर्नेछन् ? यो एउटा गम्भीर प्रश्न हो। साथै नेपालबाट जुन दरमा  विदेश जान्थे, त्यसमा पनि पूर्णविराम लाग्नाले यो समस्या थप बढ्ने देखिन्छ। देशमा पर्याप्त औद्योगिकीकरण र विकास निर्माणका  कार्यहरु  नभएको अवस्थामा बेरोजगारीको समस्या अझै बढ्ने देखिन्छ। 

आज आधुनिक विज्ञान र चिकित्सा पद्धतिले घूँडा टेकिरहेको छ। मानिसहरु 'गो ब्याक टु नेच'को सिद्धान्तको अवलम्बन गरिरहेका छन्। विश्वका शक्तिशाली राष्ट्रहरु पनि परम्परागत चिकित्सातर्फ़ हेरिरहेका छन्। चीन ,भारत लगायत अफ्रिकी मुलुकहरु आ-आफ्नो परम्परागत चिकित्सा पद्धतीको उपयोग तथा उत्थान गरिरहेका छन्। 

अहिले विश्व बजारमा हर्बल प्रोडक्टको मार्केट अर्बौ डलरको भइसकेको छ र आउने समयमा अझै बढ्ने देखिन्छ। यस सन्दर्भमा नेपालमा परम्परागत तथा जडिबुटी चिकित्साको अवस्था  र सम्भावना कस्तो छ भन्ने प्रश्न स्वभाविक रुपमा उब्जन्छ। 

हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरुले सुसम्पन्न राष्ट्र हो, यसमा हामी कसैको दुमत छैन।  जल, जंगल, जडिबुटी यहाँका प्रमुख प्राकृतिक स्रोत हुन्। पर्यटनको सम्भावना न्यून रहेको वर्तमान अवस्थामा हाम्रो फोकस आयुर्वेद, योग, प्राकृतिक चिकित्सा जस्ता  हाम्रा मौलिक परम्परागत चिकित्सामा हुनुपर्ने देखिन्छ। 

आयुर्वेदका शास्त्रहरुमा हिमालयमा प्राप्त हुने जडिबुटीहरु श्रेष्ठ हुने तथ्य बताईएको छ। तसर्थ हिमालय पर्वतहरुको काँखमा रहेको हाम्रो देश पोटेन्ट हर्ब र मिनरलबाट सु-सम्पन्न छ। तसर्थ  विश्व बजारमा हाम्रो  हर्बल प्रोडक्ट नम्बर एक हुने सम्भावनालाई नकार्न सकिन्न। 

यसका अनेकौ उदाहरणहरु दिन सकिन्छ । जस्तै विश्व बजारमा नेपाली शिलाजितको उच्च डिमाण्ड छ। अहिले कोविड-१९ विरुद्ध रोग प्रतिरोध क्षमता बढाउने औषधीहरु जस्तै गुर्जो, अश्वगन्धा, जेठिमधु, तुलसी, तितेपाती, दालचिनी, बेसार, अदुवा, अमला , मह, आदि जस्ता एकल औषधीहरु र च्यवनप्राश, संसमनी बुटी, संजीवनी बुटी, जस्ता यौगीक औषधीहरुको आवश्यकता घर घरमा छ। यसका अतिरिक्त निर्यातको पनि प्रचुर सम्भावना छ। 

मित्र राष्ट्र चिनले आफ्नो परम्परागत चिकित्सा पद्धती टिसीएमअन्तर्गतका औषधीहरु इरान, इटलीजस्ता राष्ट्रहरुमा निर्यात गरिरहेको छ। छिमेकी राष्ट्र भारतले पनि कोरोनाका बिरामीहरुमा आयुर्वेद चिकित्साको प्रयोग गरेर मेडिकल डाटा जेनेरेट गरिरहेको छ, ताकि विश्व बजारमा आयुर्वेदलाई अझ माथि लान सकियोस् ।

यस सन्दर्भमा हाम्रो देश नेपालमा कुनै ठोस कदम लिएको देखिन्न। राष्ट्रको मातहतमा रहेका  आयुर्वेद उद्योगहरु सम्पूर्ण देशकै माग पूरा गर्ने अवस्थामा  छैनन्। तसर्थ धेरैजसो आयुर्वेद औषधीहरु हामी भारतबाट आयात गर्दछौं। 

त्यसैले सर्वप्रथम आयुर्वेद उत्पादमा  आत्मनिर्भर हुनुपर्ने देखिन्छ। नगदे बालीको रुपमा माटो र  बिभिन्न हावापानीको अनुसन्धान गरेर त्यसअनुसार जडिबुटीको वैज्ञानिक खेती  गर्नुपर्ने देखिन्छ। बन विभाग, कृषि विभाग, आयुर्वेद विभाग तथा अन्य सम्बन्धित संगठनहरुको समन्वयात्मक कार्यक्रमहरु अघि आउनुपर्ने देखिन्छ। जिल्ला जिल्लामा जडिबुटी संकलन र प्रसोधन केन्द्रहरुको स्थापना गर्नुपर्ने देखिन्छ। यस  किसिमका  परियोजनाहरुबाट स्थानीय स्तरमा कृषक तथा युवाहरुको लागि रोजगारीको अवसर सिर्जना हुने देखिन्छ।  

प्रशोधित जडिबुटीहरुलाई गुणस्तरीय प्याकेजिंग गरेर अझ राम्रो मूल्यमा बिक्री र निर्यात गर्न सकिन्छ। त्यसबाट बिभिन्न रोगहरु अनुसारको आयुर्वेद औषधीयोगहरु  बनाउनसके अझ रोजगारीका अवसरहरु सिर्जना हुनेछन् तथा जडिबुटीहरु भन्दा प्रोडक्टहरुबाट अझै  उच्च मूल्य प्राप्त गर्न सकिन्छ र स्वास्थ्य सेवामा पनि योगदान दिन सकिन्छ । 

फिनिस्ड आयुर्वेद प्रोडक्टको बजारीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि पनि मार्केटिंग र सेल्स पर्सनको अवश्यकता  पर्दछ। बिक्री वितरण गर्ने आयुर्वेद फार्मेसी र ड्रग स्टोरहरुहरुको पनि जरुरत पर्ने हुँदा त्यसबाट पनि रोजगारीका अवसरहरु सिर्जना हुने छन् ।

तसर्थ राज्यले यस क्षेत्रमा उचित नीति लिएर लगानी गर्नुपर्ने र स्वरोजगारको बाटो अवलम्बन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउनुपर्ने देखिन्छ, जय आयुर्वेद !

(आयुर्वेद स्नातकोत्तर छात्र, राष्ट्रिय आयुर्वेद संस्थान जयपुर,   भारत)