काठमाण्डौ । यो वर्षको विश्व मुटु दिवसको अवसर पारी नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष चेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ । 
 
हस्पिटलले आगामी असोज १३ गते शनिवारको दिन अस्पतालको बहिरंग कक्षमा विशेष डेमोन्सटेसनसहितको मुटु र मुटु रोग सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको हो । 
 
सो क्रममा हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र  आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कायक्रम आयोजना गर्ने अस्पतालमा नायव महाप्रबन्धक आरपी मैनालीले जानकारी दिए । 
अस्पतालले सो कार्यक्रम मुटु रोगी तथा सर्वसाधारणका लागि निकै उपयोगी हुने भन्दै सहभागिताका लागि आह्वान गरेको छ । 
 
बिहान ८ बजेदेखि १० बजेसम्म आयोजना हुने सो कार्यक्रममा नर्भिकका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ लगायतले विशेष प्रस्तुती र मुटु रोगको बिषयमा तालिम समेत दिनेछन् ।