काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार एक विशेष समारोहकाबीच आफ्नो नवजडित क्याथल्याव सेवाको समुद्घाटन गरेको छ । 

विश्व मुटु दिवसका अवसर पारेर कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो सेवाको समुद्घाटन गरेका हुन् । 

नयाँ क्याथ ल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथ ल्याव हो । उक्त क्याथ ल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली, हातखुट्टाका रक्तनली र मूत्र प्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने अस्पतालको दाबी छ । 

नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस पनि मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार (घटस्थापना) को दिन पर्न गएको छ । 

विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारिखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ । 

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभरकै मानिसहरु यसको चपेटामा पर्दै आएका छन् । हाल विश्वभरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाललगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन, शिक्षामूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ मुटुको नायक बनौं ” रहेको छ । 

नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवनयापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुखआतिथ्य हस्पिटलका अध्यक्ष बसन्त चौधरीले गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाललगायतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए । 

यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले “विशेष मुटु जाँच योजना”नामक एक विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रमअन्तर्गत विशेषज्ञबाट निशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए । 

अध्यक्ष चौधरीले आगामी कात्तिक ९ गते नर्भिकको ८ तल्ले नयाँ भवनको सिलान्यास गरिने र यसलाई २५६ शैयायुक्त राष्ट्रकै अति विशिष्ट हस्पिटलका रुपमा रुपान्तरण गरिने घोषणा गरे ।