काठमाण्डौ । पछिल्लो समय अटो उद्योगमा हाइब्रिड कारले तहल्का मच्चाइरहेको छ । इन्धन निकै कम खपत हुने र न्यून कार्बन उत्सर्जन गर्ने यस्ता कारहरुको बिक्री नेपालमा समेत सुरु भइसकेको छ । आखिर के हो त हाइब्रिड कार ? यसको प्रयोगमा के–के छन् फाइदा ? 

हाइव्रिड कार त्यस्तो कार हो, जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इञ्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इञ्जिनले पनि कार्य गर्दछ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् कहिले ब्याट्रीको मात्र खपत हुन्छ भने कहिले ब्याट्रीको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्याट्रीले मात्र इञ्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इञ्जिनले सहयोग गर्दछ । 

हाइब्रिड कार परम्परागत कार जत्तिकै चलाउन सहज हुन्छ । यसको शक्तिमा कुनै सम्झौता गरिराख्नु नपर्ने भएकाले यो कार आज संसारमा प्रमुख रोजाइमा पर्दै आएको छ । यस कारमा चालकले आफ्नो आवश्यकता वा बाटोको प्रकृति हेरी कारलाई कुन मोडमा चलाउनुपर्ने हो, सो कुरा आफै तय गर्न सक्नुहुन्छ । 

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रीमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इञ्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा काइनेटिक इनर्जी खेर जान्छ, तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको ब्याट्री चार्ज हुन्छ । 

हाइब्रिड इञ्जिनका विभिन्न प्रकारहरु हुने गर्दछन्, तीमध्ये प्यारलल हाइब्रिड, प्लगइन हाइब्रिड, सिरिज हाइब्रिड, माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड हाल प्रयोगमा आइरहेका छन् । 

हाइब्रिड कारका आफ्नै विशेषताहरु हुन्छन्, जस्तो यसमा इन्धनको मूल्य वृद्धिले यसलाई खासै असर गर्दैन भने यसले कार्वन उत्सर्जन पनि न्यून मात्रामा गर्ने हुँदा वातावरण सुधारमा पनि यसले ठूलो योगदान दिन्छ । प्रत्येक वर्ष विश्वको तापक्रम बढ्दै गइरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पुर्याउने हुँदा आज विश्वका हजारौं बैंज्ञानिकहरुले यस्ता कारहरुमा अझ बढी गहिरो अन्वेषण गर्दै आएका छन् । 

ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले ब्याट्री चार्ज हुने यसको प्रमुख विशेषता हो । त्यसैगरी यस्ता कारहरुको निर्माण गर्दा हलुका कच्चा सामाग्रीहरुको प्रयोग गरिएको हुन्छ, अर्थात् हलुका भएका कारण यस्ता कारहरुले कम इन्धन खपत गर्दछन् । यस्ता कारहरुको दिनप्रतिदिन माग बढ्दै गईरहेको अवस्थामा माग ज्यादा भएको हुँदा उच्चतम मूल्यमा रिसेल गर्न पनि सहजै सकिन्छ । 

कुनै पनि कुराको सकारात्मक तथा नकारात्मक दुबै पक्ष हुने हुँदा हाइब्रिड कारका केही नकारात्मक पक्षहरु पनि रहेका छन् । हाइब्रिड कारका नकारात्मक पक्षभन्दा सकारात्मक पक्ष बढी भएको हुँदा आज संसारमा यस्ता कारहरुको उत्पादन वृद्धि हुँदै गइरहेको छ भने यस्ता कारहरुको प्रविधिमा हजारौं अन्वेषण एवम् खोज अनुसन्धान हुँदै आइरहेका छन् । यसले गर्दा आगामी दिनहरुमा हाइब्रिड कारका सकारात्मक पक्ष एवं विशेषताहरु अझै बढ्दै जाने निश्चित छ ।

पेट्रोलियम पदार्थको स्रोत क्रमशः घट्दै गइरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पुर्याउने विश्वास लिन सकिन्छ । त्यसैले विश्वमा यस्ता कारहरुको खरिदमा सरकारले समेत सहुलियत प्रदान गर्दै आएका छन् । नेपाल सरकार समेत सोही बाटोमा रहेको देखिन्छ । यसले नेपालमा समेत हाइब्रीड कार ग्राहकको पहिलो रोजाईमा पर्ने निश्चित देखिन्छ ।