काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा बिरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ ।
यस वर्षको विश्व श्रवण शक्ति दिवस आगामी फागुन २० गते मंगलवार तदनुसार मार्च ०३, २०२० का दिन मनाइँदैछ । यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “जीवनका लागि श्रवण”  रहेको छ । 
विकासशील र अल्पविकसित मुलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध सङ्क्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने बानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही सङ्क्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने खतरा समेत आइपर्न सक्छ । 
तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा जीवनका लागि श्रवण ः श्रवण शक्ति कम भई आफ्नो गतिलाई सीमित हुन नदिऊँ राखेको हुनुपर्छ । हाल विश्वभर करिब ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिकामात्रै रहेका छन् । 
नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभएपनि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता सङ्क्रमणहरु जस्तैः दादुरा, गलगाँड, रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू मुख्य रहेका छन् । 
श्रवण शक्ति ह्रास हुँदा मानिसलाई विविध कठिनाईहरु आइपर्ने हुन्छ । जस्तैः व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरणमा समस्या, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी, परिवार÷समाजमा एक्लोपनको महसुस हुने,आदि रहेका छन् ।
त्यस्तै वयष्क मानिसहरूको श्रवण शक्तिको ह्रासले उनीहरूको व्यवहारिक पक्ष वा संज्ञानात्मक गिरावट निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोगजस्ता खतरनाक समस्याहरूको सिकार हुन सक्ने जोखिम बढाइदिने हुन्छ । 
समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ । उपर्युक्त तथ्यलाई मनन गर्दै नर्भिकको नाक–कान–घाँटी विभागले यही फागुन २० गते मंगलवार र २१ गते बुधवारका दिन विहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वानभूषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने छन् । उक्त दुव ैदिन श्रवण शक्ति परीक्षण गराउनु पर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षण- जाँच समेत निःशुल्क गरिनेछ । त्यसरी नै कानसम्बन्धी शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट हुनेछ । शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने व्यवस्था छ । श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा२५ प्रतिशत छुटसहितको दर÷रेटमा प्राप्त हुनेछ ।