काठमाण्डौ । विश्व बजारसँग लय मिलाउँदै नेपालको सेयर बजारमा पनि भारी गिरावटको संकेत देखिएको छ । आइतबार र सोमबार सकारात्मक गतिमा कुदिरहेको बजारमा एकाएक कालो बादल मडारिएको हो । यो दिन बजारमा कारोबार रकम पनि ह्वात्तै घटेको छ भने परिसूचक घटेर १४०० तल आइपुुगेको छ । बजारका सबै समूहको परिसूचकमा पनि रातो पोतिएको छ । 

पछिल्लो कालमा भारत, अमेरिका लगायतका विश्वका अधिकांश ठाउँका बजार परिसूचकमा भारी पहिरो गइरहेको छ । विश्व बजारको परिसूचकसँग लय मिलाउँदै नेपाली बजारले समेत खराब प्रदर्शन गरेको हो । यहाँ समेत मंगलबार लगानीकर्ताले करोडौं रुपैयाँ गुमाएका छन् ।

मंगलबार बजार परिसूचक(नेप्से) ६.०२ अंकले घटेर १३९४.०३ अंकमा सीमित भएको छ । कारोबार रकम पनि घटेर २४ करोडको हाराहारीमा आइपुुगेको छ ।

यो दिन बैकिङ समूह ५.७९, बिमा समूह ३०.१८, विकास बैंक समूह ३.९३ र माइक्रोफाइनान्स समूह ७.५५ अंकले घटेका छन् । होटल समूहमा ६.८७, व्यापार समूहमा ५.८२, जलविद्युत समूहमा २२.५४, बित्त समूहमा ०.१८ र अन्य समूहमा ०.२८ अंकको गिरावट आएको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा समेत विकर्षण बढेको संकेतको रुपमा सेन्सेटिभ इण्डेक्स १.१७ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४७ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी 
यो दिन बजारमा १ सय ५२ कम्पनीका ७ लाख ९ हजार ८ सय ३ कित्ता सेयर २४ करोड २० लाख ९६ हजार १ सय ४६ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा धेरै सानिमा माई हाइडोपावरले १ करोड ६३ लाख बढीको कारोबार गर्यो । बाँकी सबै कम्पनीको कारोबार १ करोड तल झरेको हो । एभरेष्ट बैंकले ८६लाख, स्ट्याण्डर्ड चार्टर्डले ७६ लाख, सानिमा बैंकले ७५ लाख, ओरिएन्टेल होटलले ७५ लाख, इन्भेष्टमेन्ट बैंकले ७० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिन्धुु विकास बैंकले सबैभन्दा धेरै कमायो । यो बैंकको सेयर मूल्य ४.५८ प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गुमाउनेमा कर्णाली विकास बैंक अगाडि देखियो । यो बैंकको सेयर मूल्य ४.६१ प्रतिशतले घट्यो ।