काठमाण्डौ । विश्व अर्थतन्त्रले अनुमान गरेभन्दा राम्रो प्रर्दशन गरेको तर, अझै पनि उत्पादनको अभुतपूर्व गिरावटको मार्गमा विश्व अर्थतन्त्र रहेको भन्दै “अर्गेनाइजेशन फर इकोनोमिक कोपरेसन एण्ड डेभलेपमेन्ट(ओईसिडी)ले चेतावनी दिएको छ । 

ओईसिडीले हालै सार्वजनिक गरेको इकोनोमिक आउटलुकमा यो वर्ष विश्व अर्थतन्त्र ४.५ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरिएको छ । आईसिडीले गत जुन महिनामा गरेको प्रक्षेपणभन्दा यो दर कम हो । जुन महिनामा संस्थाले विश्व अर्थतन्त्रको जिडिपी ६ प्रतिशतले घट्ने अनुमान गरेको थियो । 

“सन् २०२० मा विश्व उत्पादनमा, अनुमान गरेभन्दा कम गिरावट आउनेछ । तर यो गिरावट हालैको इतिहासभन्दा धेरै नै हुनेछ ।” आईसिडीले आफ्नो रिपोर्टमा जनाएको छ । 

यस्तै आइसिडीले सन् २०२१ मा विश्व अर्थतन्त्र ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यद्यपि कोरोना महामारीका कारण यो प्रक्षेपण अनिश्चित देखिएको छ । महामारी र यससँग जोडिएका घटनाक्रमहरुले विश्व अर्थतन्त्रको वृद्धि र गिरावटमा थपघट हुनेछ । 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न विश्वव्यापी रुपमा जारी गरिएका लकडाउन र प्रतिबन्धका कारण सबैभन्दा धेरै प्रभावित यात्रा र पर्यटन उद्योग अहिले पनि पूर्ण रुपमा माथि उठ्न सकेको छैन । धेरैजसो देशहरुमा फेरि संक्रमणका केसहमा वृद्धि आउन थालेको छ । जसका कारण विश्वका देशका अधिकारीहरुले संक्रमणको नयाँ लहर नियन्त्रण गर्न फेरी पनि नयाँ प्रतिबन्धहरु जारी गर्नसक्ने सम्भावना रहेको छ । जसको परिणामस्वरुप विश्व अर्थतन्त्रमा दवाब पर्ने देखिन्छ । 

आईसिडीले कोरोना महामारीको प्रभाव विश्वका देशहरुको अर्थतन्त्रमा फरक–फरक रुपमा देखिने पनि चेतावनी दिएको छ । चीन, अमेरिका र युरोप क्षेत्रले जुन महिनामा गरिएको अनुमानभन्दा राम्रो प्रर्दशन गर्नेछन् भने भारत, मेक्सिको र दक्षिण अफ्रिकाको प्रर्दशन भने खराब रहनेछ । 

आईसिडीले सन् २०२० मा आर्थिक वृद्धिको अनुभव गर्न पाउने एक मात्र देशको रुपमा चीन हुने जनाएको छ । जहाँ सन् २०२० मा १.८ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । 

यस्तै सन् २०२० मा अमेरिकाको अर्थतन्त्र ३.८ र युरोप क्षेत्रको ७.९ प्रतिशतले संकुचित हुने जनाइएको छ । भारत, अर्जेन्टिना, बेलायत, दक्षिण अफ्रिका र मेक्सिकोको अवस्था भने भयावह हुने आईसिडीले अनुमान लगाएको छ । यी देशहरुको अर्थतन्त्रमा १० प्रतिशतभन्दा धेरैको गिरावट आउने अनुमान लगाइएको छ ।