काठमाण्डौ । नेपाली कांग्रेस वीपी र राप्रपा राष्ट्रवादीबीच पार्टी एकीकरणको छलफल तीव्र बनाइएको छ । 

यी दुई पार्टीले संसदीय निर्वाचनकै बेला बानेश्वरमा एक संयुक्त आमसभा गरी पार्टी एकीकरण गरी राष्ट्रवादी शक्तिको मोर्चा बनाउने घोषणा गरेका थिए । सोही घोषणालाई मूर्त रुप दिन दुई पार्टीले केही दिनदेखि एकीकरणको छलफललाई तीव्र पारी ठोस नतिजातर्फ उन्मुख भएका हुन् । 

यही क्रममा शुक्रबार यी दुई पार्टीका अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्य समेतको सहभागितामा बिजुलीबजारस्थित वीपी चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेको छ । करिब साढे ३ घण्टा बसेको बैठकले दुवै पार्टीका तर्फबाट एक एकजना रहने गरी २ सदस्यीय एकीकृत पार्टीको दस्तावेज निर्माणको गर्ने समिति निर्माण गरेको छ ।

नेपाली कांग्रेस वीपीका संस्थापक तथा महामन्त्री सुशीलमान शेरचनका अनुसार दुवै पार्टीका प्रतिनिधि सम्मिलित समितिले ७ दिनभित्रमा एकीकरणको दस्तावेज तयार गर्नेछ । त्यसपछि पार्टी एकीकरणको अन्य कामले समेत तीव्रता पाउने उनको भनाई छ।

नेपाली कांग्रेस वीपीको नेतृत्व  हरिवोल भट्टराईले गरिरहेका छन् भने राप्रपा राष्ट्रवादीको नेतृत्व पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले गरिरहेका छन् । 

नेपाली कांग्रेस वीपीका अधिकांश नेता कांग्रेसबाट विद्रोह गरेर आएका  छन् । उनीहरुले चुनावअघि नै उठाएको कांग्रेसभित्रको भद्रगोल अवस्था, नातावाद र कृपावादको चरम रुप, भ्रष्टाचार, कमिसनतन्त्र लगायतका बिषय अहिले स्थापित भएका छन् । वीपी कांग्रेसका नेताहरुले चुनावकै बेला उठाउने गरेका कांग्रेसभित्रका यी  विकृति चुनावमा लज्जास्पद हार व्यहोरेको नेपाली कांग्रेसका नेताहरुले अहिले आएर दोहोर्याउने गरेका छन् ।

कांग्रेसभित्र आफूहरुले औंल्याएको विकृतिकै कारण उसको लज्जास्पद हार व्यहोरेको विश्लेषण गर्ने वीपी कांग्रेसले आफूहरुले उठाएको मुद्धालाई जनताले अनुमोदन गरिदिएकोले अब मूलधारको कांग्रेसको जिम्मेवारी आफ्नो काँधमा आएको बताउने गरेका छन् ।