काठमाण्डौ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल कोरोना संक्रमितमुक्त बनेको छ । 

त्यहाँ उपचार गराइरहेका सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि सो अस्पताल तत्कालका लागि संक्रमितमुक्त बनेको हो । 

पछिल्ला तीन दिनको अवधिमा सो अस्पतालको आइसोलेसनमा वार्डमा रहेर उपचार गराइरहेका सबै ७० कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । 

पछिल्लो पटक सोमबार अपरान्ह यो अस्पतालबाट ४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्टेडन्ट डा. मदनकुमार उपाध्यायका अनुसार सोमबार डिस्चार्ज हुने एकजना सर्लाहीका हुन् भने बाँकी सबै पर्साका हुन् । 

सबै संक्रमितका पछिल्ला २ वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको समेत उनले प्रष्ट्याए । 

सोमबार डिस्चार्ज हुनेमा पत्रकार महासंघ पर्साका अध्यक्षसहित संक्रमित २ पत्रकार समेत छन् । 

आइतबार राति मात्रै यो अस्पतालले एकैपरिवारका १८ जनालाई डिस्चार्ज गरेको थियो । 

त्यसअघि शनिवार ९ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । 

नारायणी अस्पतालबाट डिस्चार्ज भएका पछिल्ला ४३ संक्रमितसहित नेपालमा निको भएर घर फर्किने संक्रमितको कुल संख्या १५५ पुगेको छ । हालसम्म ६८२ मा संक्रमण फेला परिसकेको छ ।