काठमाण्डौ । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा कांग्रेस र राजपाबीच कडा टक्कर देखिएको छ । 

बिहीबार बिहान साढे ४ बजे सार्वजनिक मतपरिणाममा कांग्रेसले राजपालाई झिनो मतले उछिनेको भए पनि पछिल्लो मतपरिणाममा फेरि राजपा अगाडि बढेको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार बुधबार रातिसम्म राजपाले लगातार अग्रता लिएको वीरगञ्जमा केहीबेरअघि सार्वजनिक परिणाम अनुसार राजपाका मेयरका उम्मेद्वारले ७ मतले अग्रता लिएका छन् । राजपाका राजेशमान सिंहले २४०९ मत पाएका छन् । उनलाई कांग्रेसका अजय दिवेदीले २४०२ मत पाएका छन् । 

तेश्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले १६४६ मतले पछ्याइरहेको छ । चौथो स्थानमा रहेको माओवादीले १३७० मत ल्याएको छ । एमाले पाँचौ स्थानबाट अगाडि बढ्न सकेको छैन । एमालेले मेयरमा १२३३ मत मात्र ल्याएको छ । 

उपमेयरमा कांग्रेस उम्मेद्वार फराकिलो मत अन्तरले अगाडि बढेका छन् । कांग्रेसले २७०९ मत ल्याएको छ भने राजपाले २२०८ मत ल्याएको छ । संघीय समाजवादी फोरमले १६४५, माओवादीले ९८९ र एमालेले १४३८ मत ल्याएको छ । यसरी मेयरमा पाँचौ स्थानबाट अगाडि बढ्न नसकेको एमाले उपमेयरमा भने चौथो स्थानमा छ ।