काठमाण्डौ । पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा पहिलो स्थान बनाएको एमालेले प्रदेश नम्बर २ का दुुई महत्वपूर्ण केन्द्रमा भने लज्जास्पद हार व्यहोर्ने संकेत देखिएको छ । 

प्रदेश २ तथा तराई मधेशको पर्याय २ ठाउँ वीरगञ्ज र जनकपुरमा एमालेको कन्तबिजोग अवस्था देखिएको हो । हुन त तेश्रो तथा अन्तिम चरणको स्थानीय निर्वाचनमा समेत एमालेले आफू पहिलो हुने दाबी गरेको थियो, तर उसलाई मतदाताले भने पत्याएनन् । 

वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको मतपरिणाम हेर्दा एमालेको अवस्था निकै लज्जास्पद देखिएको हो । जनकपुरमा त एमाले अग्रस्थानमा रहेको राजपा भन्दा १० गुणा कम मतका साथ सबैभन्दा पछाडि छ । 

हालै प्राप्त अपडेट अनुसार जनकपुरमा राजपाले मेयर र उपमेयरमा क्रमशः ८७१७ र ६१९० मत ल्याएको छ । तर, एमालेले भने ८९९ र ९३३ मत मात्र ल्याएको छ । दोश्रो स्थानमा रहेको कांग्रेसले दुुई पदमा क्रमशः २९१७ र २६४५ मत ल्याएको छ । संभवत तीन तहको स्थानीय निर्वाचन अन्तरगत सबैभन्दा कम मत आएर एमालेको जमानत जफत हुने अवस्था देखिएको जनकपुर नै पहिलो स्थान बन्नसक्छ । यो उपमहानगरमा सुरुवातदेखि नै राजपाले फराकिलो मतअन्तरले अग्रता लिइरहेको थियो । 

उता, प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जमा समेत एमालेले आफ्नो सुरुवाती अवस्थामा सुधार ल्याउन सकेको छैन । वीरगञ्जमा मेयरतर्फ राजपा अगाडि छ भने उपमेयरमा कांग्रेस अगाडि छ । राजपाले मेयरमा ल्याएको मत एमालेको भन्दा दोब्बर बढी छ । पछिल्लो अपडेट अनुसार मेयरमा राजपाले ३६९४ मत ल्याएको छ, उसलाई कांग्रेसले ३६१९ मतले पछ्याइरहेको छ । उपमेयरमा भने कांग्रेसले ४३८५ मतले अग्रता लिएको छ । उसलाई राजपाले ३०३७ मतले पछ्याइरहेको छ । यो स्थानमा संघीय समाजवादी फोरम तेश्रो, माओवादी केन्द्र चौथो र एमाले पाँचौ स्थानमै छन् । एमालेले मेयरमा १८४० र उपमेयरमा २३३२ मत ल्याएको छ । वीरगञ्जमा ८० हजारको हाराहारीमा मत खसेको थियो । मतगणनाको प्रारम्भिक अवस्था रहेकोले यसै भन्न सकिने अवस्था भने छैन । 

दुुई उपमहानगरमा भने अगाडि
उता, प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये जनकपुरमा लाजमर्दो अवस्थामा रहेको एमालेले बाँकी २ उपमहानगरपालिकामा भने अग्रता लिइरहेको छ । जितपुर सिमरा र कलैया उपमहानगरमा एमालेको अग्रता कायम रहेको हो । एमालेले जितपुर सिमरामा मेयर र उपमेयरमा क्रमशः ७५७१ र ७१२४ मत ल्याएको छ । उसलाई माओवादी केन्द्रले ६१४६ र ५६१९ मतले पछ्याइरहेको छ । यो ठाउँमा कांग्रेस तेश्रो स्थानमा छ । उसले मेयरमा ५८०० र उपमेयरमा ६७२३ मत ल्याएको छ । 

कलैया उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेद्वारले हालसम्म २८१७ र २६६८ मत ल्याएका छन् । उसलाई समाजवादी फोरमले २५१३ र २०७७ मतले कडा टक्कर दिइरहेको छ । तेश्रो स्थानमा रहेको कांग्रेसले मेयरमा २१६९ र उपमेयरमा १८७७ मत ल्याएको छ । यो उपमहानगरमा माओवादी चौथो र राजपा पाँचौ स्थानमा छन् ।