काठमाण्डौ । कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान हुने प्रायः सबै सेवा साउन ३२ गते (आइतबार) देखि लागू हुने गरी बन्द गरेको छ।

बोर्डको सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बोर्डबाट उपलब्ध हुँदै आएका आर्थिक सहायतालगायतका सेवाहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने जनाइएका छ। बोर्डबाट प्रदान गरिने आर्थिक सहायताका लागि स्थानीय तहमा निवेदन दिन सकिने र स्थानीय तहले प्राप्त कागजात सिफारिस गरेर बोर्डमा पठाउने बताइएको छ।

बोर्डले मूलतः वैदेशिक रोजगारीको सिलसिलामा गएका नेपालीका लागि काम गर्दै आएकोमा विदेशमा मृत्यु भएका नेपालिको शब ढुवानीका लागि बोर्डको वेबसाइटमा ढाँचासहित निवेदन दिन तथा बोर्डको अधिकारिक इमेल ठेगानामा जानकारी गराउनुपर्ने र सोहीअनुरुप बोर्डले आफ्नो काम गर्ने बताइएको छ।

बोर्डको अन्य सेवा आवश्यक परेमा टोल फ्री नम्बर ११४१ मा कल गरेर बुझ्न सकिने बोर्डले जानकारी दिएको छ।