काठमाण्डौ । वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तबीच मर्जर हुने भएको छ । यी दुई संस्थाले नारी दिवसको दिन(फागुन २४ गते) मर्जरको सम्झौता गरेका हुन् ।

वोमीले नागरिक लघुवित्तलाई अक्वायर गर्ने सम्झौता भएको भन्दै नेप्सेलाई वोमी माइक्रोफाइनान्सले फागुन २५ गते पत्र पठाएपछि त्यसैका आधारमा वोमीको दोश्रो बजारमा कारोबार रोक्का गरिएको छ । 

नेप्सेको सूचिकरण शाखाले आइतबार एक सूचना जारी गर्दै वोमी र नागरिक माइक्रोफाइनान्सबीच मर्जरको सम्झौता भएको प्रष्ट्याएको हो । 

नागरिक लघुवित्तले भने हालसम्म आइपीओ जारी गरेको छैन र उसको दोश्रो बजारमा उपस्थिति छैन । 

वोमी माइक्रोफाइनान्सले २०६८ सालको नारी दिवसको अवसर पारी आफ्नो कारोबारको शुभारम्भ गरेको थियो । महिला प्रमोटरको बाहुल्यता रहेको यो संस्थाको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ । 

हाल यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । 

नागरिक लघुवित्त भने २०७४ असार २५ गते पब्लिक लिमीटेड फाइनान्सियल इन्स्टिच्यूसनको रुपमा दर्ता भएको थियो । यो कम्पनीलाई नेपाल राष्टबैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा संचालनका लागि स्वीकृति दिएको थियो ।

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा बिस्तार भएको छ । नागरिक लघुवित्तको अधिकृत पूँजी ५ करोड रुपैयाँ रहेको छ भने २ करोड ५० लाख जारी पूँजी रहेको छ ।  कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासन गरिसकेको छैन भने प्रमोटरबाट ७० प्रतिशत लगानी जुटिसकेको छ । 

वोमीको चुक्तापूँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । 

केन्द्रीय बैंकले माइक्रोफाइनान्स कम्पनीको समेत पूँजी वृद्धिको नीति लिएसँगै यस्ता कम्पनीबीच पनि मर्जर र एक्वीजिसनको क्रम सुरु भएको हो।

यसअघि साधाना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्तिको सम्झौता गरिसकेको छ । 

वोमी र नागरिक लघुवित्तबीचको मर्जर सम्झौता पूँजी वृद्धिको नीति आएपछि माइक्रोफाइनान्स कम्पनीबीच भएको दोश्रो सम्झौता समेत हो ।