काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा स्थापित व्यवसायिक मेलमिलाप केन्द्रको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा उद्घाटन गरे । 

केन्द्र उद्घाटन पश्चात व्यवसायिक मेलमिलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले मेलमिलाप केन्द्र व्यवसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्न सकोस भनी शुभकामना दिए । 

व्यवसायिक मेलमिलापको बढ्दो आवश्यकता र यसले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका विषयमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

खतिवडाले मेलमिलाप पद्धतिलाई व्यवसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन निजी क्षेत्रलाई आग्रह समेत गरे। 

व्यवसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधाननै व्यवसायिक मेलमिलाप भएकाले सर्वोच्च अदालतले समेत व्यवसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर यस्ता केन्द्र स्थापना गरी सोही केन्द्रका माध्यममार्फत समस्या समाधानमा जोड दिएको उनले प्रष्ट पारे । 

महासंघका अध्यक्ष राणाले कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै मेलमिलापलाई व्यवसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसाथ गर्नुपर्नेमा जोड दिइन । मेलमिलापबाट छिटो, छरितो र सजिलोसँग विवाद समाधान हुन सक्ने भएतापनि कतिपय व्यवसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पुरयाउने, विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्तिले गर्दा विवादित पक्षले निकै ठूलो नोक्सानी व्यहोर्नु परेकाले व्यवसायिक मेलमिलापलाई विवाद समाधानको महत्वपूर्ण माध्यमको रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्ने सुझाव दिए । 

साथै अध्यक्ष राणाले महासंघले संस्थागत व्यवस्था गरी मेलमिलापको सेवा उपलव्ध गराउने, मेलमिलाप पद्धतिलाई भरपर्दो र व्यवस्थित तरिकाले प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको पनि स्पष्ट पारिन।

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक एवं आर्थिक कारोवार गर्ने पक्षहरू बीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडि बढाउने प्रतिवद्धता जनाए । व्यवसायिक मेलमिलाप निजी क्षेत्रको लागि महत्वपूर्ण सरोकारको विषय भएतापनि यो पद्धतिलाई व्यापक रूपमा प्रयोग गर्न नसकिएको सन्दर्भमा महासंघले यसको महत्वलाई बुझाउन आम रूपमा निजी क्षेत्र माझ लैजाने विश्वास समेत दिलाए ।
कार्यक्रममा पूर्व न्यायधिश माननीय केशरीराज पण्डितले वाणिज्य क्षेत्रको विवाद समाधानमा मेलमिलाप प्रक्रिया र वरिष्ठ अधिवक्ता एवं मेलमिलाप परिषदका सदस्य मात्रिका प्रसाद निरौलाले नेपालमा व्यवसायिक विवादमा मेलमिलापको सम्भाव्यता र कार्यदिशाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

न्यायाधीशहरु किरण पौडेल र श्रीकान्त पौडेल सहित पाटन उच्च अदालतका चारजना न्यायाधीशहरूले समेत सम्बोधन गरेका सो कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघका महानिर्देशक धरणीधर खतिवडा, वरिष्ठ कानून व्यवसायीहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । 

महासंघको मेलमिलाप फोरमका सभापति रामशरण थपलियाले पनि बोलेको सो कार्यक्रममा सहभागी वरिष्ठ कानून व्यवसायीहरूले ऐन कानूनको निर्माणले पनि मेलमिलाप पद्धतिलाई प्रवद्र्धन गर्न बल पुग्न जानुको साथै मेलमिलाप पद्धतिको प्रवद्र्धनतर्फ भइरहेको प्रयासको सराहना गरे ।