काठमाण्डौ । पछिल्लो समय अधिकांश वित्तीय सूचकमा उकालो चढ्दै गरेको माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत विगतको प्रगतिलाई कायमै राखेको छ। 

अघिल्लो वर्ष व्यवसायिक एवम् शाखा विस्तारमा राम्रो प्रगति गरेको बैंकले यो आर्थिक वर्षको सुरुवातसँगै अघिल्लो वर्षको व्यवसायिक सफलतालाई निरन्तरता दिंदै शाखा विस्तार र व्यवसायिक प्रगतिमा उल्लेख्य सफलता हात पारेको उसको वित्तीय विवरणमा देखिन्छ ।

चालु आबको पहिलो त्रैमासमा बैंकले ८.५ अर्ब कर्जा प्रवाह गरेर कुल कर्जा ८६ अर्ब पुर्याएको छ । बैंकले सोही अवधिमा ६.०७ अर्ब निक्षेप संकलन एवम् रु. ३ अर्ब बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रीको रेकर्ड बनाई रु. ९.०७ अर्ब बराबरको स्रोत जुटाउने सफलता पाएको छ। 

अघिल्लो वर्ष शाखा बिस्तारमा निकै आक्रामक बनेको यो बैंकले समीक्षा अवधिमा सोही आक्रामकतालाई निरन्तरता दिएको छ । 

गएको आर्थिक वर्षमा ४३ शाखा थप गरी कुल शाखा १३१ पुर्याएको बैंकले समीक्षा अवधिमा १२ शाखा थपी जम्मा शाखा संख्या १४३ पुर्याएको छ । 

शाखा वृद्धि तथा व्यवसायमा समकालीन बैंकभन्दा आक्रामक देखिएको बैंकको पहिलो त्रैमासको खूद नाफा रु.३७.६० करोड रहेको छ । 

समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ १५ करोड ५१ लाखको उचाईमा पुगेको छ भने रिजर्ब बढेर २ अर्ब माथि पुगेको छ ।
 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद ब्याज आम्दानीमा १३.०४ प्रतिशतको वृद्धि गरी बैंकले ९५ करोड २४ लाखको उचाई चुमाएको छ ।
 

संचालन मुनाफा समेत बढाएर ५५ करोड ८१ लाख पुर्याएको बैंकको समीक्षा अवधिको वितरणयोग्य मुनाफा १५ करोड ५ लाख रुपैयाँ रहेको छ ।
 

समीक्षा अवधिमा बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.८९ प्रतिशत, खराब कर्जा ०.३१ प्रतिशत, कस्ट अफ फण्ड ७.५७ प्रतिशत, वार्षिकीकृत प्रतिसेयर आम्दानी रु. १७.७८ कायम भएको छ ।