काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा १४ करोडले नाफा बढाएको छ । 

राष्ट्रियस्तरको यो विकास बैंकले बिहीबार वार्षिक बित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्ष ३५ करोड  ८८ लाखमा सीमित खूद नाफालाई बढाएर यो वर्ष ४९ करोड ६३ लाख पुुगेको बताएको हो। 

अघिल्लो आर्थिक वर्ष ६९  करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३ करोड पुर्याएको छ । खूद ब्याज आम्दानीमा देखिएको यो फड्कोलाई बैंकले व्यवसाय वृद्धिमा अपनाएको आक्रामक रणनीतिको परिणाम मान्न सकिन्छ । 

यो अवधिमा बैंकले ७३ करोड ९५ लाख संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको यस्तो नाफा ५३ करोड ३० लाख मात्र थियो । 

बैंकले यो अवधिमा १६ अर्ब ७७ करोड निक्षेप संकलन गरी १५ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ११ अर्ब २७ करोड निक्षेप संकलन गरी ९ अर्ब ९० करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष ०.०९ रहेको निस्क्रिय कर्जा दरलाई अझ घटाएर ०.०२ प्रतिशतमा झार्न बैंक सफल भएको छ । अघिल्लो वर्ष ७८.६३ प्रतिशत रहेको सीडी रेसियो वर्ष ७०.५२ प्रतिशत कायम भएको छ । 

यो विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४९.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७८.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.२४ गुुणा कायम भएको छ ।