काठमाडौं। सिम्रिक एयर प्रालिले व्यवसाय बिस्तारका लागि लिन लागेको ऋणको रेटिङ गराएको छ । 

इक्रा नेपालबाट सिम्रिकले आफूले स्वदेशी मुद्रा र अमेरिकी डलरमा लिन लागेको ऋणको रेटिङ गराएको हो । 

सिम्रिकले स्वदेशी र विदेशी मुद्रामा गरेर एक अर्ब ३२ करोड ११ लाख ८० हजार रुपैयाँ ऋण लिने भएको हो। 

इक्रा नेपालका अनुसार कम्पनीले स्वदेशी मुद्रामा ५८ करोड ६९ लाख रुपैयाँ र अमेरिकी डलरमा ६३ लाख ३० हजार ऋणको रेटिङ गराएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिले ऋणको रेटिङ गराउने व्यवस्था गरेको थियो । 

कम्पनीले लामो अवधिका लागि ४६ करोड ५२ लाख नेपाली मुद्रामा र ९ लाख ७० हजार अमेरिकी डलर विदेशी मुद्रामा ऋण लिन लागेको छ । लामो अवधिका लागि लिन लागेको ऋणलाई इक्रा नेपालले इक्रा एनपी एलएलबी रेटिङ प्रदान गरेको छ । 

यो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा नै वित्तिय दायित्व पूरा गर्ने चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन्। 

सिम्रिकले छोटो अवधिका लागि पनि १२ करोड १६ लाख ७० हजार स्वदेशी मुद्रा तथा ५३ लाख ६० हजार अमेरिकी डलरमा ऋण लिन लागेको छ । यो ऋणलाई इक्रा नेपालले इक्रा एनपी ए फोरको रेटिङ प्रदान गरेको छ । 

यो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा नै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा न्यून मात्रामा सुरक्षित मानिन्छन् । जोखिमको दृष्टिमा यस्ता उपकरणहरु ज्यादै उच्च क्रेडिट जोखिम भएको मानिन्छन् ।