काठमाण्डौ । व्यवस्थापन पढेर बेरोजगार हुनुभएको छ ? यदि त्यसो हो भने तपाईलाई जागिरको सुवर्ण अवसर सार्वजनिक भएको छ । राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले मानव संसाधन मेनेजरदेखि ब्राञ्च मेनेजर हुँदै ट्रेनी असिस्टेन्ट(इन्ट्री लेभल)सम्मका पदहरुमा करिब १५० जनाका लागि जागिरको अवसर खुलाएको छ । 

बैंकले आइतबार सूचना प्रकाशित गरी आधुनिक बैकिङ र माइक्रो फाइनान्सको क्षेत्रमा काम गर्ने जनशक्ति माग गरेको हो । 

आधुनिक बैकिङ विभागमा काम गर्ने गरी एकजना एचआर मेनेजर मागिएको छ । केन्द्रीय कार्यालयका लागि खुलाइएको यो पदमा ५ वर्षसम्मको कार्यानुभव भई एचआर विषयमा व्यवस्थापनबाट स्नातकोत्तर गरेको ४० वर्ष भन्दा कम उमेरकाले आवेदन दिनसक्ने छन् ।

यस्तै, केन्द्रीय कार्यालयकै लागि एकजना जोखिम मेनेजर समेत मागिएको छ । यो पदमा समेत सोही पदमा रही अन्य बित्तीय संस्थामा ५ वर्षसम्म काम गरी सम्बन्धित बिषयमा स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइने बताइएको छ । 

धार्के, बेनीघाट, पार्वतीपुर, गोपीगञ्ज, रामापुर कोलोनी, तानसेन र रिदी लगायतका जुनसुकै ब्राञ्चमा रहेर काम गर्ने गरी केही संख्यामा ब्राञ्च मेनेजर समेत मागिएको छ । ए र बी श्रेणीको बित्तीय संस्थामा काम गरी ३ वर्ष अनुभव प्राप्त गरेको र व्यवस्थापनमा स्नातक गरेकोले यो पदमा आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

जुनसुकै शाखाका लागि भन्दै १० जना सिनियर असिस्टेण्ट पनि मागिएको छ । वाणिज्य, विकास बैंक र बित्त कम्पनीमा कम्तीमा २ वर्ष काम गरेको, ३० वर्ष भन्दा कम उमेरको व्यवस्थापनमा स्नातकले यो पदमा आवेदन दिन सक्नेछन् । 

यस्तै बैंकले आधुनिक बैकिङतर्फ नै १० जना असिस्टेन्ट मागेको छ । बैंक तथा बित्त कम्पनीमा कम्तीमा १ वर्ष काम गरेको र व्यवस्थापनमा स्नातक गरेकोले यो पदमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । बैंकले २५ वर्ष मुनिका व्यवस्थापनमा स्नातक गरेकाहरुलाई लक्षित गर्दै २० जना जुनियर असिस्टेन्ट मागेको छ । यो इन्ट्री लेबलको पद हो । 

यस्तै, मुक्तिनाथ विकास बैंकले माइक्रो फाइनान्स विभागमा काम गर्ने गरी २ जना रिसर्च एण्ड प्लानिङ अफिसर मागेको छ । यो पद केन्द्रीय कार्यालयका लागि खुलाइएको हो । कम्तीमा ३ वर्षको अनुभव प्राप्त, ३५ बर्ष मुनिको स्नातकोत्तर पढेकाले यो पदमा आवेदन दिनसक्ने छन् । 

यस्तै, पोखरा उपत्यका भन्दा बाहिरका लागि १० जना ब्राञ्च मेनेजर समेत मागिएको छ । यो पदमा ३ वर्ष अनुभव प्राप्त, ३५ बर्ष मुनिको व्यवस्थापनका स्नातक गरेकालाई प्राथमिकता दिइने बताइएको छ । 

बैंकले ३ जनाको संख्यामा कृषि प्राविधिक समेत मागेको छ । २ वर्ष काम गरेको अनुभव भई ४० वर्ष कम उमेरको कृषिमा आइएस्सी गरेकालाई यो पदमा अवसर दिने जनाइएको छ । 

बैंकले शाखाहरुमा काम गर्ने गरी २० जनाको संख्यामा असिस्टेन्ट र जुनियर असिस्टेन्ट मागिएको छ । १ वर्ष काम गरेको अनुभव प्राप्त ३० वर्ष मुनिको स्नातक गरेको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्णलाई अवसर दिइनेछ । 

५ जनाको संख्यामा मेनेजमेन्ट टेनी समेत मागिएको छ । यसका लागि व्यवस्थापनमा स्नातक गरेको ३० वर्ष मुनिको  उम्मेद्वारलाई प्राथमिकता दिइने बताइएको छ । बैंकले ४० जनाको संख्यामा जुनियर असिस्टेन्ट मागेको छ । यो पदमा २८ वर्ष भन्दा कम उमेरको व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिनसक्ने छ ।