काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिवद्धता जनाएको छ । 

सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित अन्तक्र्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने जानकारी गराएको हो । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई पेश गरे ।

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर प्रतिवेदन तयार गरेको थियो । 

अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टी हुँदा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए । 

सो अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले  सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउँदै जान सरकार तयार रहेको बताए । नेपालको सन्र्दभमा सामाजिक सुरक्षा नयाँ कार्यक्रम भएकाले यसमा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि मन्त्री विष्टले व्यक्त गरे ।

सो अवसरमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले सुरक्षाकोष कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाइ समाधानबारे भएका पहलबारे जानकारी गराएका थिए ।