काठमाण्डौ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बार्षिक बैठक अन्तर्गत दक्षिण पूर्व एशिया क्षेत्र मतदान समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वमा हाल देखा परेको व्यापार युद्धको अवस्थाले नेपालजस्ता साना मुलुकहरुका लागि समष्टिगत आर्थिक व्यवस्थापन गर्न चुनौति सिर्जना गरेको र यो अबस्था कुनै पनि मुलुकका लागि फाइदाजनक नभएको बताएका छन् ।

त्यस्तै, यस अवस्थाले मूल्य नियन्त्रण गर्ने मौद्रिक नीतिको औजार तथा प्रभावकारिता कमजोर हुँदै गएकोले यसतर्फ विश्व समुदायको ध्यान जानु जरुरी भएको बताए । 

सो बैठकमा उनले दक्षिण एशियाको आर्थिक बृद्धिदर विश्वमै उच्चतम रहेको र सोबाट विश्व अर्थतन्त्रमा सिर्जना गरेको अवसर र योगदानको सही चित्रण हुनुपर्ने विषय समेत औंल्याए । 

वित्तीय क्षेत्रमा प्रयोगमा आएका नबीनतम प्रविधि ूफिनटेकू ले ल्याएको चुनौती र अवसरलाई व्यवस्थापन गर्न नियमनकारी निकायहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउदै बहुनियामक निकायहरुबीच समन्वय हुन नसके वित्तीय अराजकता निम्तिनेतर्फ सबै सचेत हुन आग्रह समेत गरे । 

अर्थमन्त्री डा. खतिवडाले ठूला राष्ट्रहरुको द्धिपक्षीय सहमतिले ूग्लोवल गभर्ननेन्सू गर्ने अभ्यासबाट साना राष्ट्रहरुको आवाज सही ढंगबाट प्रतिनिधित्व नहुनेतर्फ सहभागी देशहरुको ध्यानाकर्षण गर्दै उनले बहुपक्षीय संस्थाहरुको भूमिका कमजोर हुन लागेको तर्फसमेत संकेत गरे । 

नेपाल बहुपक्षीय संस्थाबादको पक्षमा रहेको र त्यस्ता संस्थाहरु साना मुलुकहरुको आवाज विश्व समुदायलाई सुनाउन प्रभावकारी मञ्च हुने विचार व्यक्त गरे । यस अवस्थामा विश्व बैंक समूहले बहुपक्षीय संस्थाहरुका लागि नेतृत्वदायी र प्रेरणादायी भूमिका निभाउनुपर्ने तर्फ पनि जोड दिए । 

सो समूहको बैठकमा नेपालराष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो । 

आजै बहुपक्षीय लगानी प्रत्याभूति संस्थाको प्रतिनिधि मण्डल र नेपाली पक्षबीच भएको द्धिपक्षीय बैठकमा नेपालमा बैदेशिक निजी लगानी प्रवर्द्धन गर्न उक्त संस्थाले थप परियोजनाहरुमा लगानी प्रत्याभूति गर्ने प्रतिबद्धता समेत व्यक्त भएको थियो । 

साथै, बैदेशिक निजी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न नेपालले हालै गरेका प्रयासहरु सकारात्मक रहेको भनी उक्त संस्थाका प्रतिनिधिहरुले धारणा व्यक्त गरेका थिए । 

सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले गरेका थिए ।