काठमाण्डौ । लगातारको बर्षाका कारण आएको बाढीले अवरुद्ध विराटनगर बिमानस्थल शनिवारदेखि सुचारु हुने भएको छ । 

बाढी तथा स्थानीय खोलाको भेल विमानस्थलमा प्रवेश गर्दा एक फिटसम्मको हिलो जम्मा भएको थियो । काठमाण्डौबाट गएको नेपाली सेनाको स्पेशल टाक्स फोर्स, इटहरी, हिलो तथा विराटनगर विमानस्थलमा रहेका सेनाको टोली तथा अन्य सुरक्षाकर्मीसहितले एकहप्ता लगाएर मोटोको लेदो सफा गरिसकेपछि शनिवारदेखि विमानस्थल सुचारु गर्न लागिएको नेपाल नगारिक उड्डयन प्राधिकरण विराटनगरका प्रवक्ता सन्तोष ढकालले जानकारी दिएका छन् । 

ढकालका अनुसार शुक्रबार बिहान बसेको प्राधिकरणको सबै विभागको बैठकले शनिबारदेखि विमान उडाउन विमास्थल तयार भएको निश्कर्ष निकालेको छ। 

मोरङको बुढिगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिंचाईको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थल पनि जलमग्न भएको थियो । पानी र हिलोका कारण विमानस्थलको रनवे, ट्याक्सी पार्क, टर्मिनल भवन र सुरक्षा निकायको ब्यारेकसम्म डूूबानको चपेटामा परेका थिए।