काठमाण्डौ । कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश १ को मुख्य शहर विराटनगरमा दुई साता लामो लकडाउन लागू हुने निर्णय भएको छ । 

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले शनिवारदेखि लागू हुने गरी विराटनगर महानगरपालिकामा २ साता लामो लकडाउन लगाउने निर्णय भएको हो । 

महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना भाइरस संक्रमितको संख्या बढेको र संक्रमण समुदायस्तरमै फैलिएको देखिएको स्थिति नियन्त्रण गर्न पुनः लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए । 

हाल विराटनगर महानगरपालिका क्षेत्रभित्र १०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् । संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेपछि स्थानीय क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउन लगाउनुपर्ने निश्कर्ष निकालेको हो । 

यो निर्णयसँगै शनिवारदेखि अत्यावश्यकबाहेकका कामका लागि घरबाहिर निस्किन पाइने छैन । 

पुनः लकडाउनको निर्णयसँगै अब विराटनगर महानगरपालिका क्षेत्रमा व्यापक रुपमा परीक्षणको काम थालिने समेत मेयर पराजुलीले जानकारी दिएका छन् । यसका लागि प्रदेश र केन्द्र सरकारसँग समेत सहयोग मागिसकिएको उनले बताए ।