काठमाण्डौ । शनिवार(भोलि) समेत बैंक तथा बित्तीय संस्था खुल्लै हुने भएका छन्। 

नेपाल राष्ट्रबैंकले असोज २४ गते क, ख र ग वर्गका बैंक तथा बित्तीय संस्थाहरुका नाममा एक सूचना जारी गर्दै राजश्व बुझ्ने प्रयोजनका लागि शनिवार समेत बैंक खुल्लै राख्न भनेको हो । 

अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको पत्रको हवाला दिंदै राष्ट्रबैंकले असोज २७ गते शनिवारको दिन राजश्व बुझ्ने सबै बैंकहरुको शाखा तथा काउण्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजश्व बुझ्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

पहिलो त्रैमासको अन्तिम महिनाको मसान्तमा दशैंको विदा परेकोले समेत शनिवार बैंक खुल्लै राख्न केन्द्रीय बैंकको निर्देशन आएको हो । यो दिन बैंकहरुले राजश्व बुझ्ने र चेक क्लियरिङका लागि लिने काम गर्नुपर्नेछ । 

यो प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमीटेड पनि साबिकका दिन झै खुल्लै राख्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।