काठमाण्डौ । शेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? शेयर बजारमा प्रवेश गरेर आफूसँग भएको रकमलाई सदुपयोग गर्न खोज्नु हुँदैछ भने तपाईले शेयर खरीद गर्दा विशेष गरी कम्पनीको आम्दानी खर्च, नाफा नोक्सान, ऋण धन, नेटवर्थ, लाभांश, नगद प्रवाह लगायतको बिषयमा ध्यान दिनुपर्ने हुन्छ । यी सबै कुरा बुझ्नु हुन्न भने सामान्यतया मुख्य रुपमा तपाईले सम्बन्धित कम्पनीको मूल्य आम्दानी अनुपात( P/E Ratio) हेर्न आवश्यक हुन्छ । 

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य आम्दानी अर्थात पीई अनुपात भनिन्छ । शेयर विश्लेषक रविन्द्र भट्टराईका अनुसार यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य कुनै पनि बेला झर्नसक्ने जोखिम बढ्छ । कम्पनीको छनौट गर्दा यो अनुपातलाई मात्र हेरेर लगानीको निर्णय लिनु पनि हितकारी हुन्न । कम्पनीका अन्य पक्षजस्तो सुशासन, इक्विटीमा प्रतिफल आदि पनि हेर्न आवश्यक हुन्छ । 

पीई अनुपात कसरी निकाल्ने ?
मूल्य आम्दानी अनुपात(पीई रेसियो) निकाल्ने सजिलो सूत्र यसप्रकार छ :

 

                       प्रति शेयर बजार मूल्य
   
पीई अनुपात = --------------------------

                       प्रति शेयर आम्दानी
 

उदाहरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति शेयरको पछिल्लो बजार मूल्य २९४२ रुपैयाँ छ । यो बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको प्रति शेयर आम्दानी ५३.७८ रु. छ । यसको अर्थ अब स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो निकाल्नुपर्दा माथिको सूत्र प्रयोग गर्दा यस्तो परिणाम निस्कन्छ :
पीई रेसियो = २९४२ रु. /  ५३.७८ = ५४.७० 

पीई रेसियोले लगाानीकर्तालाई कुन शेयरमा लगानी गर्ने भन्ने कुराको संकेत गर्छ । पीई रेसियो विश्वमै धेरै प्रयोग हुने बित्तीय विश्लेषण मापन गर्ने एक सजिलो र वैज्ञानिक विधि पनि हो । 

यही सूत्रको आधारमा चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक रिपोर्टका आधारमा मुख्य वाणिज्य बैंकहरुको मूल्य आम्दानी अनुपात निकालिएको छ । लगानीकर्ताहरुलाई यो रिपोर्टबाट कुन र कस्तो शेयरमा लगानी गर्दा उत्तम हुन्छ बुझ्न सहज हुनेछ ।