-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजार लगानीको यस्तो क्षेत्र हो, जहाँ सबैले कमाउँदैनन् । लगानी गरेकामध्ये कमैले मात्र कमाउँछन् भने बढीले गुमाउँछन् । 

सेयर बजारमा लगानी गरेर कमाउनका लागि राम्रो रणनीति चाहिन्छ भनेर हामीले सुन्दै, पढ्दै आएका छौ । तर, कतिपयको हकमा यो विषय लागू नहुन पनि सक्छ । पढेरै, बुझेरै लगानी गरिरहेका करोडपतिहरु पनि सडकमै पुगेका छन् । यो विषयलाई मान्ने हो भने सेयर बजारबाट कमाउन राम्रो लगानी रणनीतिको साथमा भाग्यको पनि साथ चाहिन्छ भन्न सकिन्छ । यस्तै भाग्यमानी लगानीकर्ता हुन् शम्भु प्रधान । 

नेपालको चलचित्र उद्योगमा एक चम्किएको नाम हो शम्भु प्रधान । उनी त्यस्ता भाग्यमानी सेयर लगानीकर्ता पनि हुन्, जो ख्याल ख्यालमै दोश्रो बजारमा छिरे र ख्याल ख्यालमै कुस्त कमाउन सफल पनि बने । 

धरान जन्मथलो भई काठमाण्डौलाई कर्मथलो बनाएका वरिष्ठ चलचित्र निर्देशक शम्भू प्रधान चलचित्रमा मात्र हैन सेयर बजारमा पनि उत्तिकै सशक्त र सक्रिय एक उदाहरणीय र अनुकरणीय पात्र समेत हुन् । 

एक्काइस वर्षको उमेरदेखि भारतको पूणेस्थित फिल्म इन्स्च्यिुटबाट चलचित्र क्षेत्रमा जोडिएका प्रधानले मुम्बईमा फिल्म सम्पादनबाट करिअर सुरु गरेका थिए । नेपाली सिने जगतमा थुप्रै हिट फिल्म दिएका प्रधानले सन् १९८५ मा नेपाली कथानक चलचित्र ‘सम्झना’ निर्देशन गरे, जुन उनको नेपाली चलचित्रमा पहिलो फिल्म थियो । त्यसपछि स्वर्ग, सपना, सरस्वती, सूनचाँदी, सम्पत्ति, आशीर्वाद लगायत १४ वटा फिल्म निर्देशन गरेका उनले ११ वटा आफ्नै लगानीमा निर्माण गरे । पछिल्लो पटक ‘रंगबैजनी’ नामको फिल्म बनाएका उनले अर्को फिल्मका लागि ब्रेक लिएको बताए । 

उनकोे अनामनगरमा रहेको नूतन स्टुडियोमा साथीभाइहरुले सेयरमा लगानी गरेको देखेपछि उनीहरुलाई नै पछ्याउँदै प्रधान पनि सेयर बजारमा छिरेका थिए । 

हुन पनि पुतलीसडकपछिको सेयर बजारका लागि दोस्रो हब ‘अनामनगर’लाई लिइन्छ । अनामनगरस्थित ब्रोकर नम्बर ५७, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजबाट उनले हाल अनलाइन युजर लिएर कारोबार गरिरहेको सुनाए ।

सुरुमै दोस्रो बजार ताकेर आएका उनले सनराइज बैंक १ सय ६७ मा १० कित्ता सेयर खरिद गरेर सेयरबजारमा पाइला चालेका थिए । 

उनले निर्देशन गरेको पहिलो फिल्म ‘सम्झना’ र खरिद गरेको सेयर ‘सनराइज बैंक’को रहेको र दुवै ‘स’अक्षरबाट सुरु भएकोले किन ‘स’ नै भन्ने हाम्रो जिज्ञासामा उनले आफूलाई मज्जा लागेको र ह्वीमकै कारण ‘स’ बाट अक्षर सुरु भएको फिल्म र कम्पनी रोजेको बताए । 

ख्याल ख्यालमै २०६९ सालदेखि सेयर बजारमा लगानी सुरु गरेका उनलेसाढे ८ करोडसम्मको पोर्टफोलियो बनाएको अनुभव सुनाए । 

साथीभाइकै देखासिकीमा सेयर बजारमा सक्रिय प्रधानले दोस्रो बजारमा होमिएपछि अध्ययन गर्न थाले । अध्ययन गर्र्दै जाँदा एक्साइटमेन्ट बढ्दै गएको र विश्वका ठूला लगानीकर्ताहरुका बारेमा समेत पढ्न थालेको सुनाए । पढ्दै जाँदा उनलाई रोमाञ्चक लाग्न थाल्यो र कम्पनीको वित्तीय अवस्थाको विषयमा समेत आफैंले अध्ययन गर्न थाले ।

विभिन्न क्षेत्रका सेयरहरु मिलाएर लगानीको पोर्टफोलियो बनाउनु उत्तम रहेको थाहा हँदाहुँदै पनि उनले इन्स्योरेन्स सेक्टरमै लगानी ओइराए । प्रधान भन्छन्–‘मैले इन्स्योरेन्स सेक्टरमा बढी फोकस गरेर पोर्टफोलियो बनाएँ ।’ 

नेपाल लाइफ(एनएलआइसी)को ५ हजार कित्ता सेयर ९ सयमा किनेर ३ हजारमा बेचेको र शिखर इन्स्योरेन्स(एसआइसीएल) ५ सयमा किनेर १२ सयमा  ५ हजार कित्ता बेच्न भ्याएको पनि उनले सुनाए । प्राइम लाइफ (पीएलआइसी)६ सयमा किनेर २२ सयमा बेचेको उनले दाबी समेत गरे । एनएलआइसी ३३ सयमा किनेर अहिले १ हजार वरिपरि रहेको तथ्य सुनाउँदै उनले थपे–‘सेयर बजारको सुन्दरता र बिडम्बना नै यही हो ।’

प्रधानले सेयर बजारको भविष्य राम्रो भएको उल्लेख गर्दै आनन्द लिन सके बजारले लगानीकर्तालाई राम्रो प्रतिफल दिने बताउँछन् । कम्पनीहरुमा लगानी गरेपछि दैनिक बजार हेरे तनाव हुने, तर २ वर्षसम्म कुर्न सकेमा राम्रो हुने उनको सुझाव(अनुभव) छ ।  ‘तपाईले रुख रोपेर दैनिक हेर्न थाल्नुभयो भने कहिल्यै बढेको देख्नुहुन्न । तपाईलाई त्यो रुख नै उखेलेर मिल्काइदिऊजस्तो लाग्नसक्छ । तर एकपटक रुख रोपेर केही वर्षसम्म ढुक्कले बस्नुभयो भने त्यो रुख बढेको पनि देखिन्छ र फल दिंदा मख्ख होइन्छ ।’ सेयर बजारको लगानीलाई बिम्ब प्रयोग गरी प्रष्ट्याउँदै प्रधानले भने–‘सेयर बजार पनि त्यस्तै हो । प्रत्येक दिन मूल्य घट्यो वा बढेर हेर्न थालियो भने पैसा कमाउन सकिन्न । तर एकपटक लगानी गरेपछि ढुक्कले केही वर्षसम्म बस्नुहोस्, त्यही सेयरले तपाईलाई नसोचेको फल दिन थाल्छ।’

संसारमा स्टक मूल्य यति नै सही हो भन्ने नभएको उल्लेख गर्दैै आफूलाई जुन सही लाग्छ उही नै सही मान्नुपर्ने उनको धारणा छ । 

सेयरमा लगानी गर्दा कहिल्यै पनि ऋणमा लगानी नगर्न सुझाउँदै उनले भने–‘दायित्व नभएका फ्री पैसा(अर्थात बचत रकम) नै सेयर बजारमा लगानी गर्नुपर्छ । अरु कसैले भनेको पनि नसुनी आफ्नो मनले भनेको सेयर खरिदबिक्री गर्नुपर्छ ।’

सेयर खरिदबिक्रीमा ब्रोकरलाई समेत नसोधी किन्नुपर्ने भन्दै उनी थप्छन्–‘मार्केट तलमाथि भइरहने भएकोले ब्रोकरहरु समेत द्विविधामा हुन्छन् र सधैं सही सल्लाह नपाउन सकिन्छ ।’

सेयर बजारबाट पैसा कमाउन राम्रो लगानी रणनीतिसँगै भाग्य पनि चाहिने उनको भोगाई छ । 

रु. दुईलाख पोर्टफोलियोबाट लगानी सुरु गरेर करोडौं बनाएका प्रधानले फिल्म र सेयर बजार उस्ताउस्तै भएको दाबी समेत गरे । ‘दुवै क्षेत्रमा ह्वीमको निकै ठूलो भूमिका हुँदो रहेछ ।’ उनले थपे–‘दुवै क्षेत्र माउथ पब्लिसिटीबाट ड्राइभ हुँदा रहेछन् । तर, दुवै क्षेत्रका लागि यो शैली गलत हो।’

सेयर बजारमा प्रवेश गरिसकेपछि बाहिरिन नहुने र कथम्कदाचित बाहिरिएको खण्डमा हार हुने उनको दाबी छ । 

फिल्म र  सेयर बजार दुवै क्षेत्रको प्रकृति मिल्ने जिकिर गर्दै उनले भने–‘दुवै क्षेत्रमा उच्च जोखिम भएकाले जिरोमा आउनसक्ने पनि सम्भावना पनि उत्तिकै रहन्छ ।’

सेयर बजारलाई एटीएम भन्न रुचाउने उनले तत्काल नगदमा परिणत गर्नसकिने तरल लगानीको विकल्प भएको समेत बताए । सेयरमा गरिने लगानीको थोरै थोरै टुक्राहरु आवश्यकता अनुसार बेच्दा केही सहज र फाइदा हुने उनको बुझाई छ ।

एकसय पार भ्यालू(प्रतिसेयर अंकित मूल्य) भएको सेयरलाई ट्रेडरले नै अनावश्यक दर बिगार्ने गरेका दाबी गर्दै उनले भने–‘१० लाखको कुनै कम्पनीको सेयर किनेर १० वर्षसम्म छाडिदिनुहोस्, अनि हेर्नुहोस् सेयरको लगानीले के गर्दो रहेछ।’

फिल्म क्षेत्रबाट नै काठमाण्डौमा घरजग्गा, गाडी जोडिसकेका प्रधानले सेयरको कमाइले अमेरिका धेरै पटक पुर्याएको र सबै पैसा सेयर बजारमै लगानी गरिरहेको समेत सुनाए ।

सफल बन्न आवश्यक लगानी टिप्स चाहि के हो त ? हाम्रो प्रश्नको सटिक जवाफ दिंदै प्रधानले भने–‘सेयर किनेर बिर्सिदिनुहोस् । सेयर किनेको दिन १ वटा रुख रोप्नुहोस्, अनि त्यो रुखले फल दिन थालेपछि मात्र बिर्सिइएको सेयरलाई सम्झने गर्नुहोस्।’

सेयर बजारमा रमाएर लगानी गर्दा आनन्द हुने भन्दै प्रधानले अर्को स्टक एक्सचेञ्ज निजी क्षेत्रबाट आउनुपर्ने र बिदेशीलाई पनि नेपाली सेयर बजारमा भित्र्याइनुपर्नेमा जोड दिए ।

नेप्से इण्डेक्सको भविष्यवाणी कसैले पनि गर्न नसक्ने र यसको जवाफ कसैलाई पनि थाहा नहुने प्रष्ट पार्दै उनले भने–‘नेप्से कता जान्छ भनेर कुनै व्यक्तिले प्रक्षेपण गरिरहेको छ भने त्यो प्रक्षेपण मात्र होइन, सो व्यक्ति नै गलत हो भनेर बुझ्नुपर्छ ।’