रुपन्देही । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच पशुधन बिमा तथा लघुवित्त तथा विपन्न बर्ग कर्जाको कर्जा सुरक्षण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकवाट कर्जा लिई खरिद गरेको पशुहरुको कर्जा सुरक्षण कोषबाट बिमा हुनेछ भने बैंकले प्रवाह गरेको रु. १० लाखसम्मको लघुवित्त तथा विपन्न बर्ग कर्जाको समेत सुरक्षण हुनेछ । 

यस बैंकबाट कर्जा लिइ खरिद गरेको पशुको मृत्यु भएमा वा त्यस्तो पशु अनुत्पादक भएमा सम्बन्धित पशुधनीले कोषबाट क्षतिपूर्ति पाउनेछन् ।

गाई, भैंसी, बाख्रा, बंगुरको बिमा बापत लाग्ने शुल्कमध्ये ७५ प्रतिशत नेपाल सरकारले र बाँकी २५ प्रतिशत मात्र व्यवसायीले व्यर्होनुपर्ने हुँदा उद्यमीलाई न्यूनतम शुल्कको भार पर्ने र जोखिम समेत न्यूनिकरण हुने बैंकले प्रष्ट्याएको छ ।

हाल चुक्तापूँजी १ अर्ब ६२ करोड रहेको बैंकले हाल १६ अर्ब १० करोड निक्षेप संकलन गरी १४ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ भने ३९ वटा शाखा कार्यालयहरुबाट बैंकिङ्ग कारोवार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।