काठमाण्डौ। गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांशका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेप्सेले शाइन रेसुंगाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २२१.७४ रुपैयाँ कायम गरेको हो। अब यही समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउने छ। 

गत बिहीबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकको सेयर दाखिला (बुक क्लोज) आज असार १ गतेदेखि असार १२ गतेसम्म गर्ने निर्णय गरेको छ। 

बैंकको ११ औँ वार्षिक साधारणसभा यहीअसार २२ गते शुक्रबार रुपन्देहीको बुटवलस्थित एसियन भिलेज रिसोर्ट प्रालिमा आयोजना हुनेछ।  

सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्तिपश्चात कायम आर्थिक वर्ष २०७५/७६ सम्मको कुल सञ्चित मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६१८.५९ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ। 

यसैगरी सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५७.२२ प्रतिशत र सर्वसाधारण समूहको ४२.७८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ। सोहीबमोजिम सेयर स्वामित्व संरचना पनि परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।