काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । 

बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखारहित बैंकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । 
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखारहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९७ शाखारहित बैंकिङ्ग सेवा गरी जम्मा १९७ स्थानबाट सबै खालको बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा छन् ।