काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा माछापुच्छ्रे बैंक आक्रामक बन्न थालेको छ । 

बैंकले पछिल्लो केही दिनमै ४ वटा नयाँ शाखा थपेको छ भने १२ वटा शाखारहित बैंकिङ इकाई समेत शुभारम्भ गरेको छ । 

बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरुबाट कारोबार थालेको हो । 

जेठ २८ गते मंगलबारदेखि सुनसरीको इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा तथा जेठ ३० गते झापाको भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी(चारआली रोड) र मेचीनगर नगरपालिकास्थित काकडभिट्टामा शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो । 

इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले तथा चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रुपमा र काँकडभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले उद्घाटन गरेका थिए । 

यसैगरी, बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग इकाई बिस्तारमा गरेको छ । 

बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको विज्ञप्तिमार्फत जनाएको छ ।  

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ । 

हाल यो बैंकको सातै प्रदेशमा ११० वटा शाखा र ११२ शाखारहित बैंकिङ इकाई समेत गरी कुल २२२ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर १२९ वटा एटीएमहरु संचालनमा छन् ।