काठमाण्डौ । नेपाल सरकार र राष्ट्रबैंकले बैकिङ पहुँच गाउँ–गाउँसम्म बिस्तार गर्ने रणनीति लिएपछि बैंक तथा बित्तीय संस्थाहरुले शाखा बिस्तारमा आफ्नो ध्यान केन्द्रीत गरिरहेका छन् । शाखा बिस्तारको क्रममा बैंकका सीइओ, संचालक तथा राष्ट्रबैंकको केन्द्रीय कार्यालय वा शाखा रहेको क्षेत्रका क्षेत्रीय कार्यालयका अधिकारीको दौडधूप राम्रै चल्ने गरेको छ । 

शाखा बिस्तारकै नाममा बैंकहरुको खर्च समेत उस्तै हुने गरेको छ। प्रत्येक शाखा बिस्तारका लागि केन्द्रीय कार्यालयबाट सम्बन्धित क्षेत्रमा बैंकका संचालक वा व्यवस्थापनका उच्च तहका कर्मचारी प्लेनमा जाने, बस्ने खाने तथा दैनिक भ्रमणभत्ता समेत लिने शैली अधिकांश बैंकहरुले पछ्याइरहेका छन् । यसरी शाखा बिस्तारको नाममा बैंकहरुको राम्रै पैसा खर्च भइरहेको देखिन्छ । तर, के प्रत्येक शाखा बिस्तारका लागि केन्द्रीय कार्यालयबाट जम्बो टोली बैंकको खर्च गरेर सम्बन्धित क्षेत्रमै पुुग्नुुपर्ने अनिवार्यता छ ? जनताको पैसाबाट चलेका बैंकहरुले मितव्ययी नीति अपनाउन सक्दैनन् ? यी तमाम जिज्ञासाहरुलाई मेट्दै देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंकले बिनाखर्च केन्द्रीय कार्यालयबाटै एकसाथ ५ वटा शाखाको उद्घाटनको नौलो र अनुकरणीय कार्य गरेको छ । 

यो बैंकले बुधबार खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा एक साथ ५ वटा शाखा संचालनमा ल्याएको हो । ती शाखा कार्यालयहरुको एकैपटक केन्द्रीय कार्यालयबाटै अध्यक्ष राजेशकुमार श्रेष्ठले शुुभारम्भ गरे । प्रत्येक शाखाको उद्घाटन सोही ठाउँमा गएर गरिएको भए बैंकको लाखौ रुपैयाँ खर्च हुन्थ्यो, जुन जोगिएको छ । बैंक नेतृत्वले जनताको पैसामा फजुल खर्च गर्नु हुँदैन र संभव भएसम्म मितव्ययी बन्न सकिन्छ भन्ने राम्रो सन्देश पनि प्रवाह गरेको छ ।

‘यी सबै शाखा उद्घाटन सम्बन्धित क्षेत्रमै गएर गरिएको भए निकै ठूलो खर्च हुन्थ्यो ।’ बैंकका एक अधिकारीले बिजशालासँग् भने–‘उद्घाटनका लागि केन्द्रीय कार्यालयबाट पठाइने व्यक्तिको प्लेनभाडा, उसले त्यहाँ गएर बस्ने खाने खर्च, जिल्लामा गएपछि पाउने दैनिक भ्रमणभत्ता र सम्बन्धित क्षेत्रमा उद्घाटनको नाममा हुने खर्च समेत जोगिएको छ ।’ 

२०६७ फागुन २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।