काठमाण्डौ । नीतिगत व्यवस्था भएको निकै लामो समयसम्म पनि शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या बढ्न सकेको छैन । 

आर्थिक वर्ष २०७५/७६ को अन्तिम दिनसम्ममा पनि यस्तो कर्जा लिने युवाहरुको संख्या २४ मात्र रहेको हो । 

नेपाल राष्ट्रबैंकका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुका लागि प्रवाह हुने कर्जा हालसम्म वाणिज्य बैंकहरुबाट मात्र प्रवाह भएको छ । केही झञ्झटिलो व्यवस्थाका कारण समेत चाहना हुने युवाहरुले समेत यस्तो कर्जा लिन नसकेका देखिएको छ । 

विदेशबाट फर्केका युवा परियोजना कर्जातर्फ पनि उत्साहजनक वृद्धि हुन नसकेको देखिएको छ । २०७६ असार  मसान्तसम्ममा यस्तो कर्जा लिने युवाहरुको संख्या पनि निकै न्यून अर्थात ४९ मात्र रहेको छ । यस्तो कर्जा पनि वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेका छन् । 

दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जातर्फको प्रगति समेत सन्तोषजनक छैन । २०७६ असारसम्ममा दलित समुदाय व्यवसाय विकास कर्जा ७० जना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ६० जनाले मात्र लिएका छन् । यो अवस्था अपेक्षाकृत होइन । 

ब्याज अनुदानमा पाइने सहुलियतपूर्ण कर्जा अन्तरगत सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा १७ हजार २०३ ले लिएका छन् । यो शीर्षक अन्तर्गत ३७ अर्ब १२ करोड बढी कर्जा स्वीकृत भएको केन्द्रीय बैंकले जनाएको छ । 

यसैगरी, महिला उद्यमशील कर्जातर्फ ७९६ जनाका लागि ५८ करोड १३ लाख कर्जा स्वीकृत भएको छ । 

भूकम्पपीडितहरुको निजी आवास निर्माणका लागि ९३ जनालाई २ करोड ६४ लाख बढी कर्जा स्वीकृत भएको छ ।