काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ। 

कम्पनीले गत असार १४ गतेदेखि १ः०.३ अनुपात (१० कित्ताबराबर ३ कित्ता) हकप्रद सेयर निष्कासन गरिरहेको छ। कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुलाएको हो। 

सेयरधनीहरुले आज बैंकिङ समयसम्म हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको मतलब कम्पनीको हकप्रद खरिदका लागि फागुन १२ गतेभित्र सेयर किनेर सेयरधनी कायम भएकाहरु योग्य हुनेछन्।

हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ। हकप्रदपछि चुक्तापूँजी बढेर १ अर्ब ३६ करोडको उचाईमा पुग्नेछ। 

यसअघि कम्पनीले यो हकप्रद गत चैत १३ गतेदेखि बिक्री खुला गर्ने भनेको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका कारण चैत ११ गते सरकारले लकडाउन गरेपछि हकप्रद निष्कासन स्थगित हुन पुगेको थियो।