काठमाण्डौ । निर्जीवन बिमा कम्पनीतर्फ आफूलाई टप कम्पनी ठान्ने शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३०.५२६३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

गत वर्षको तुलनामा शिखरको लाभांश आधाभन्दा बढीले खुम्चिएको हो । गत वर्षको शिखरले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक रकम समेत लगानीकर्तालाई उपलब्ध गराएको थियो । आफूलाई टप निर्जीवन बिमा कम्पनीको रुपमा प्रस्तुत गर्ने शिखरको लाभांश क्षमता आधाभन्दा बढीले घटेपछि यसले लगानीकर्तालाई समेत सोच्न बाध्य तुल्याइदिएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचना अनुसार कम्पनीको कात्तिक १३ गते साँझ ४ बजे बसेको संचालक समितिको बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्ताव अनुसार शिखर इन्स्योरेन्सले २३ करोड ७१ लाख बढीको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि १ करोड २४ लाख बढी नगद लाभांश वितरण गर्नेछ । 

बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि यी दुवै प्रस्ताव कार्यान्वयनमा आउनेछन् । 

हाल शिखर इन्स्योरेन्सको चुक्तापूँजी ८१ करोड ७६ लाख रहेको छ । २९ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड माथि पुुग्नेछ ।