काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजारका जानकार विश्लेषक अम्बिकाप्रसाद पौडेलले ‘बुल रन’को साइकल सुरु भइसकेको अवस्थामा आउने प्राकृतिक करेक्सनबाट अत्तालिने मूर्खता नगर्न लगानीकर्तालाई आग्रह गरेका छन् । 

उनले नेपालको सेयर बजारमा ‘बुलिस ट्रेण्ड’को साइकल सुरु भइसकेकोले अब बजार बढ्नुको विकल्प नभएको दाबी गर्दै बिजशालासँग भने–‘सेयर बजार भनेको कुनै धावकको म्याराथान दौडजस्तो होइन । यो त हिमाल आरोहण जस्तै हो । हिमालआरोही एकैपटक शिखरमा पुग्दैन । बेस क्याम्पमा थकाई मार्दै मार्दै उसले उचाई चुम्ने हो । सोमबारको बजार करेक्सनलाई पनि यसैसँग तुलना गर्दा नयाँ लगानीकर्तालाई बुझ्न सजिलो हुन्छ ।’

११५० को विन्दूमा रहेको नेप्से परिसूचकमा छोटो अवधिमै २० प्रतिशत हाराहारीको बढोत्तरी भएको र यति ठूलो बढोत्तरीपछि भएको १.९८ प्रतिशतको करेक्सन ‘स्वभाविक’ र ‘प्राकृतिक’ रहेको बताए । ‘करेक्सन बजारको नियमित प्रक्रिया हो । यसले बुल रनको यात्रालाई अझ जोखिमरहित, बलियो र परिपक्व बनाउन मद्धत पुर्याउनेछ ।’ उनले थपे–‘जसरी आरोहीले एकैदिन ५ हजारको उचाई चुम्न सक्दैन, त्यसैगरी बजार पनि लगातार बढ्छ भन्ने आशा नगरौं ।’ 

अहिले सबै लगानीकर्तालाई सेयरमा लगानी गरेर मनग्गे कमाउने मन भए पनि सामान्य उतारचढावबाट नअत्तालिने, ढुलमुल नहुनेले नै बजारबाट पैसा बनाउने उनी बताउँछन् । सांकेतिक शैलीमा उनले भने–‘सबैलाई खोलापारि पुग्न मन छ । तर, अधिकांशलाई खोलाको आयातन, गहिराई र पानीको बेगको विषयमा थाहा छैन । कुनै एउटा खोला तर्ने क्रममा डूब्यो भने त्यसले खोला वारि नै भएका अरुलाई समेत ढलमल बनाइदिन्छ । यस्तो प्रवृति दुनियाँका सबै सेयर बजारका लगानीकर्तामा हुन्छ ।’ 

उनले बजारमा उछालको तरङ्ग आएको बेला घरबाट आज ‘सेयर किन्छु’ भन्ने योजना बनाएर बजार पुगेको व्यक्तिले सेयर बेचेर आउने वा ‘सेयर बेच्छु’ भनेर पुगेको व्यक्तिले उल्टो किनेर आउने प्रवृति देखिने समेत प्रष्ट्याए । ‘त्यसकारण नेपालको जस्तो भर्खरै माथि उठ्दै गरेको बजारमा प्रतिबद्ध लगानीकर्ता खोज्नु गाह्रो विषय हो ।’–उनले थपे । 

बुल रन सुरु भइसकेको बजारमा आगामी दिनमा बजार पुनः बढ्ने र बजार माथि–माथि उक्लिदै गर्दा करेक्सनको आकार समेत खुम्चिँदै जाने उनले सुनाए । ‘जस्तो भोलिका दिनमा बजारमा १०० अंकले बढोत्तरी भयो भने ४० अंक करेक्सन हुन सक्ला । त्यसपछि फेरि १५० अंकले बढ्दा ३५ प्रतिशत मात्र करेक्सन हुन सक्ला ।’ उनले थपे–‘बजार माथि जाँदै गर्दा करेक्सन भने कम कम हुँदै जान्छ । यो कुरालाई लगानीकर्ताले ख्याल गर्नुपर्छ ।’ 

उनले बजारमा उछालको तरङ्ग आएको बेला व्यवसायिक र अनुभवी लगानीकर्ताले मात्र कमाउन सक्ने दाबी समेत गरे । ‘तपाई कस्तो लगानीकर्ता हो भन्ने कुरा पहिला निक्र्यौल गर्नुहोस् । सर्टटर्म हो या लङटर्म ।’ उनले थपे–‘लङटर्म हो भने कुनै मजबुत स्क्रिप्ट छनौट गर्नुहोस् र २–४ पैसा घटबढ हुँदा मतलब नगर्नुहोस् ।’ 

उनले सर्टटर्म लगानीकर्ता बन्नु नयाँ लगानीकर्ताका लागि जोखिम हुने समेत दाबी गरे । सर्टटर्ममा सफल बन्ने हो भने बुलिस वेभमा खेल्न सक्नुपर्ने उल्लेख गर्दै उनले भने–‘वेभमा व्यवसायिक लगानीकर्ताले मात्र इञ्जोय गर्न सक्छ, यस्तो वेभमा नयाँले खेल्न खोजे डूब्छ ।’

बजार अझै बढ्ने आधार
बजारका जानकार पौडेलले बजारमा ‘बुलिस रन’ नरोकिने आधारहरु समेत प्रस्तुत गरेका छन् । उनले दिएका आधारलाई बुँदागत रुपमा हेरौं:

  • बजारलाई कारोबार रकमको पर्याप्त साथ, ३ महिनामा नभएको कारोबार २ हप्तामै भएको छ । बुल रनका लागि पर्याप्त र बलियो आधार तयार भएको छ । 
  • बैंकको ब्याजदर घट्दो दरमा छ । 
  • बैंक तथा वित्तीय संस्थाले एफडीको कस्ट घटाउँदैछन् । बचतकर्ता क्रमशः सेयरमा आकर्षित हुँदैछन् ।
  • ठूला व्यवसायिकले सर्टटर्म लोन सस्तोमा उठाउन पाएका छन् । त्यो पैसा अन्ततः पूँजीबजारमा आउनेछ । 
  • आम लगानीकर्ताको मनोबल बढिरहेको छ । भोल्युम पनि ठूलै देखिएको छ । 
  • मार्केटमा बुलिस टेण्डको साइकल सुरु भइसकेको छ । अब बजार बढ्नुको अर्को कुनै विकल्पै छैन ।