काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको दोश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा पहिरो गएको छ । 

यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने बिक्री आदेश दिनेहरुको संख्या अधिक छ ।

बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर बिक्री अर्डरमा राखिएको छ । 

आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको केही मिनेटमै ५ प्रतिशतको हाराहारीमा घटिसकेको छ ।

शिवम सिमेन्टको पहिलो कारोबार आइतबार प्रतिकित्ता ४६४ रुपैयाँमा भएको थियो । त्यसपछि मूल्यमा निरन्तर पहिरो गइरहेको छ ।

नेप्सेले यो कम्पनीको सुरुवाती रेञ्जमा अधिकतम मूल्य ४८४ तोकेको थियो ।

मार्केट डेप्थमा शिवम सिमेन्टमा खरीद अर्डर शून्य देखिएको छ भने यो समाचार तयार पार्दासम्म बिक्रीको गर्नेको लामै लाइन लागेको देखिएको छ। 

लगानीकर्ताहरुले ४०९ देखि ४१५ रुपैयाँसम्ममा ९५ हजार बढी  कित्ता सेयर बिक्रीका लागि अर्डरमा राखेका छन् । तर, खरीद गर्ने नहुँदा बिक्री अर्डर म्याचिङ हुन सकेको छैन । 

सबैभन्दा बढी प्रतिकित्ता ४१० रुपैयाँमा बिक्री अर्डर दिइएको छ । 

शिवम सिमेन्टले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्री गरेको थियो । 

यस्तै, आयोजना प्रभावितलाई प्रिमियमसहित २०० रुपैयाँको दरले आइपीओ बेचेको थियो ।