काठमाण्डौ । शिवम् सिमेन्टको तेश्रो वार्षिक साधारणसभाले करबाहेक १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैशाख ९ गते सोमबार सम्पन्न वार्षिक साधारणसभाले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

यो प्रस्ताव पारित भएसँगै आइपीओ किनेको करिब २ महिनाभित्रै लगानीकर्ताले १५ प्रतिशत रिटर्न पाएका छन् । 

साधारणसभामा कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले  प्रस्तुत गरेका आ. व. २०७४।०७५ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका संलग्न विवरणहरु, आ. व. २०७५।०७६ को आयव्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

यसैगरी, कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ति गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरु खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरु अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने समेतका प्रस्तावहरु समेत पारित गरेको छ । 

साथै, सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै  अलका गोयल, काठमाडौंलाई संचालकमा निर्विरोध निर्वाचित भएकी कम्पनीले जनाएको छ।
साधारणसभा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको थियो ।