काठमाण्डौ । केही दिनदेखि निरन्तर रहेको शिवम सिमेन्टको सेयर मूल्यको बढोत्तरी यात्रामा ब्रेक लागेको छ । 

शिवम सिमेन्टको सेयर मूल्यमा सुनियोजित रुपमा सो सिमेन्ट कम्पनीका संचालक, उनीसँग निकट ब्रोकर र केही ठूला खेलाडीहरुले खेलेका बिषय पर्दाफास भएसँगै लगानीकर्ता सचेत भई सेयर बिक्री गरी सुरक्षित बन्नेतर्फ लाग्दा शिवमको सेयर मूल्य घटेको हो । 

बुधबार बजार खुलेदेखि नै शिवमको मूल्य बढाउने र घटाउने खेल देखिएको थियो । यो दिन कारोबार अवधिभर नै शिवम सिमेन्टको मूल्यमा तीव्र उतारचढाव भयो । केही मिनेटकै अन्तरालमा घट्ने र बढ्ने क्रम धेरैपटक दोहोरियो । 

बुधबार १३ करोड भन्दा बढीको शिवम सिमेन्टको सेयर कारोबार भयो । यसमा किन्ने भन्दा बिक्री गर्नेहरुको संख्या अधिक रह्यो । यहीकारण बजार बन्द हुँदासम्म शिवम सिमेन्टको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्न पुगेको हो । 

विगत केही दिनदेखि लगातार १० प्रतिशतको हाराहारीमा बढ्दै पोजिटिभ सर्किट हानिरहेको शिवम सिमेन्ट बुधबार भने धेरै गुमाउने टप थ्री कम्पनीमा पर्न पुगेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँले घट्यो । 

बजार बन्द हुनुभन्दा ठीक अगाडिको मार्केट डेप्थमा समेत शिवम सिमेन्टको सेयरमा अचाक्ली बिक्री चाप देखिएको छ । त्यसको तुलनामा खरीद चाप न्यून छ । 

बिक्रीतर्फ ३८ हजार २५६ कित्ता पोष्ट भएको छ भने खरीदतर्फ२ हजार ८१० कित्ता मात्र राखिएको छ । अन्तिम समयको मार्केट डेप्थले समेत शिवम सिमेन्टको सेयर किन्ने भन्दा बेच्नेको संख्या अधिक रहेको देखाउँछ । 

लगानीकर्ताहरु बढेको समयमा शिवमको सेयर बिक्री गरेर बजारबाट बाहिरिने दौडमा लाग्दा समेत यस्तो देखिएको हो । 

बजारका केही जानकारहरुले ठूला लगानीकर्ताहरुले महंगोमा सेयर बिक्री गरी बजारबाट भाग्ने क्रम सुरु गर्दा बुधबार शिवमको मूल्य घटेको बताएका छन् । उनीहरुले सेयर खेलाडीहरुले शिवमको सेयर मूल्य अस्वभाविक रुपमा बढाएर सर्वसाधारण लगानीकर्तालाई डूबाउन खोजेको र यस्तो बेलामा सर्वसाधारण लगानीकर्ता समेत सचेत बनी खरीदबिक्रीको निर्णयमा पुग्नुपर्ने सुझाव दिएका छन् । 

तीव्र द्विविधा सिर्जना हुने यस्तो बेलामा लगानीकर्ताले स्वनिर्णय लिई सुरक्षित बन्नु नै बुद्धिमानी हुने सेयर विश्लेषकहरुले बताइरहेका छन् ।