काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सम्बोधन गर्ने विषय प्रतिक्षा गरिरहेका लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको छ । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ को विन्दूमा सीमित बन्न पुगेको छ । 

लगानीकर्ताहरु सेयर खरीदबिक्रीमा सदाझै सक्रिय नबन्दा बजार केही सुस्ताएको हो । परिणामतः कारोबार रकम समेत घटेर ६२ करोड ६२ लाखमा सीमित बन्न पुगेको छ । 

सरकारले बजेटमार्फत पूँजीबजारको कारोबार लगाउने लाभकरको विषयमा कस्तो व्यवस्था आउँछ भन्ने बिषयमा लगानीकर्ताहरुमा व्यग्र प्रतिक्षा देखिन्छ । अर्थमन्त्रालयले बजेटमार्फत दीर्घकालीन लगानीकर्ताहरुलाई करमा केही छुट दिने र अल्पकालीन कारोबारी वा लगानीकर्तालाई केही बढी कर लगाउने तयारी गरिरहेको स्रोतहरु बताउँछन् । सरकारको यही स्पष्ट नीतिको प्रतिक्षामा लगानीकर्ताहरु बसेका देखिन्छ । 

लगानीकर्ताहरुको यही पर्ख र हेरको रणनीतिका कारण आइतबार बजारका सबै समूहको सूचक राताम्मे भए । 

राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९२ अंकको गिरावट देखियो । 

यो दिन बैंकिङ समूह ९.६ अंकले घट्यो भने विकास बैंक, बित्त, माइक्रोफाइनान्स समूहमा क्रमशः १४.६५, ५.३८ र ५.१५ अंकको गिरावट आयो । 

जीवन बिमा समूह ३८.०१ अंकले घटेको यो दिन निर्जीवन बिमा समूहमा ३५.०८ अंक, होटल समूह ३२.३६ अंक, जलविद्युत समूह ३०.७१ अंक, म्युचुअल फण्ड ०.०२ अंक, उत्पादन तथा प्रशोधन समूह ०.७६ अंक र अन्य समूह ११.७१ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका २० लाख ५४ हजार २८६ कित्ता सेयर ६२ करोड ६२ लाख १ हजार ६६६ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकले ४ करोड ८५ लाख बढीको कारोबार गर्यो भने शिवम सिमेन्टले ४ करोड ७५ लाख, अपर तामाकोशीले ३ करोड ७४ लाख,  हिमालयन डिस्टीलरीले २ करोड ५४ लाख, कृषि विकास बैंकले २ करोड १५ लाख, एनसीसी बैंकले २ करोड ७ लाख, प्रभू बैंकले १ करोड ९५ लाख, एनआइसी एशिया बैंकले १ करोड ७५ लाख, जनता बैंकले १ करोड ६६ लाख र बैंक अफ काठमाण्डूले १ करोड ६५ लाख बढीको कारोबार गरे। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्लोबल आइएमई लघुवित्तको सेयरमा पोजिटिभ सर्किट लाग्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । एनएमबी माइक्रोफाइनान्सको मूल्य ८.५८ प्रतिशतले बढ्यो । शिवम सिमेन्टको सेयर मूल्य प्रतिकित्तामा १३ रुपैयाँले बढ्यो । 

यो दिन पनि जोशी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यो कम्पनीको मूल्य आइपीओ मूल्य नजिकै अर्थात घटेर १११ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

अन्तरिम लाभांश दिने घोषणा गरे पनि हिमालयन डिस्टीलरीको सेयर मूल्यमा समेत ८ प्रतिशतको हाराहारीमा गिरावट देखियो ।