काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म ४१ करोड २९ लाख बढीको आवेदन परेको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँमा निश्कासन गरेको आइपीओमा पहिलो दिन नै १८ करोडको हाराहारीमा आवेदन परेको थियो । दोश्रो दिन बढेर ४१ करोड माथि पुगेको हो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दोश्रो दिनसम्म १२ हजार ९ सय ८५ आवेदकबाट १३ लाख ७६ हजार ६६० कित्ताका लागि आवेदन परेको हो । 

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । यसरी हेर्दा पहिलो दिन कुल निश्कासित कित्ताको ३३.४१ प्रतिशत खरीदका लागि आवेदन परेको छ । 

यो कम्पनीले आयोजना प्रभावित मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ फागुन ६ गतेदेखि निश्कासन गरेको छ । 

आइपीओमा छिटोमा फागुन ९ गतेभित्र र ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम सबै कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यसको अर्थ कम्पनीको आइपीओमा साथमा रु। १० हजार हुने आयोजना प्रभावितले र १५ हजार हुने सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।