काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारण र आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज(फागुन १४)देखि आइपीओका लागि आवेदन दिने काम बन्द हुनेछ । 

कम्पनीले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा सर्वसाधारणतर्फ ४६ लाख ५९ हजार २१० कित्ताका लागि आवेदन परिसकेको छ । यस्तै, आयोजना प्रभावितका लागि निश्कासन गरिएको आइपीओमा सोमबारसम्म ३ लाख ५५ हजार ६७० कित्ताका लागि आवेदन परिसकेको छ । 

कम्पनीले सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र आयोजना प्रभावितका लागि रु. २०० मा आइपीओ निश्कासन गरेको थियो।

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आयोजना प्रभावित मकवानपुरबासीका लागि ५ लाख ७९ हजार ६४० कित्ता निश्कासन गरेको छ। 

आयोजना प्रभावितका लागि छुट्याइएको सबै कित्ता बिक्री नभएपछि बाँकी रहेको कित्ता सर्वसाधारणका लागि बिक्री हुनेछ । यस्तै, म्युचुअल फण्डहरुका लागि छुट्याइएको २ लाख २० हजार कित्तामा ६० हजारका लागि मात्र आवेदन परेको छ । यसरी यो समूहतर्फ बाँकी रहेको सेयर समेत सर्वसाधारणलाई नै बिक्री गरिनेछ । 

सोमबारसम्म मात्रै पनि सर्वसाधारणतर्फ माग भन्दा ५ लाख बढी कित्ताका लागि आवेदन परिसकेकोले आयोजना प्रभावित र अन्य समूहलाई सुरक्षित गरिएको कित्ता बिक्री गर्न अब कुनै समस्या छैन । यहीकारण मंगलबार(आज)सम्म मात्र आवेदन लिइने बिक्री प्रबन्धकले प्रष्ट्याएको छ । 

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।