काठमाण्डौ । शिवम् सिमेन्टको सेयर दोश्रो बजारमा यही साताभित्र सूचिकरण भई कारोबारमा आउने भएको छ । 

शिवम सिमेन्टले मंगलबार नेपाल स्टक एक्सचेञ्जसँग सेयर सूचिकरणको सम्झौता गर्दैछ । 

सम्झौतापछि यो सातादेखि नै दोश्रो बजारमा सेयर कारोबार सुरु हुने नेप्सेस्थित स्रोतले दाबी गरेको छ । 

यो कम्पनीको साधारण सेयर फागुन २२ गते  बाँडफाँड भएको थियो । 

सेयर बाँडफाँडपछि शिवम् सिमेन्ट लिमीटेडले दोश्रो बजारमा सूचिकरण गरी कारोबार खुलाउनका लागि सिडिएससी र नेप्सेमा गत बिहीबार नै निवेदन दिएको थियो ।

नेप्सेको सूचीकरण शाखाले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ बमोजिम शिवम् सिमेन्टले पेश गरेको कागजातको अध्ययन लगभग सकेको र अब यही साताभित्रै सूचिकरण हुने गरी आवश्यक तयारी थालिएको यसअघि प्रष्ट्याएको थियो । 

सूचिकरणपछि शिवम सिमेन्टको पहिलोपटक दोश्रो बजारमा कारोबार खुल्नेछ । रियल सेक्टरको पहिलो कम्पनीको रुपमा शिवमको दोश्रो बजार प्रवेश र यसको सुरुवाती कारोबार मूल्यलाई लगानीकर्ताहरुले व्यग्र चासोका साथ प्रतिक्षा गरिरहेका छन् । 

शिवम् सिमेन्टले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र आयोजना प्रभावितका लागि  प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो।