काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडको सेयरमा जारी बढ्दो यात्रामा सोमबार ब्रेक लागेको छ । अघिल्लो साताको बुधबार झै यो कम्पनीको सेयरको बढोत्तरी यात्रामा पुनः ब्रेक लागेको हो। 

बढिरहेको कुनै कम्पनीको सेयरमूल्य घट्नुको अर्थ हो, त्यसमा बढेको बिक्री चाप, अर्थात, किन्ने भन्दा बेच्ने बढी भएपछिको अवस्था । शिवम सिमेन्टको सेयरको सोमबारको अवस्था त्यही हो । किन्नेभन्दा बेच्नेको संख्या अधिक भएपछि यो कम्पनीको सेयर मूल्य ५.४० प्रतिशत(प्रतिकित्ता ३४ रुपैयाँ)ले घट्न पुग्यो । 

कुनै पनि कम्पनीको सेयरमूल्य सधैं बढिरहँदैन, घट्छ पनि । अर्थात सेयरबजारको सुन्दर पक्ष भनेकै घटबढको यात्रा पनि हो । तर, शिवमको कुरा(खेल) यो सामान्य सिद्धान्तमा मात्र सीमित छैन । 

विगत केही दिनदेखि जे र जसका कारण यो कम्पनीको सेयर मूल्यमा उछाल आयो वा दैनिकजसो पोजिटिभ सर्किट लाग्यो, सोमबार उसैका कारण मूल्य घटेको हो । 

बिजशालाले विगतदेखि नै शिवम सिमेन्टको सेयरमा ठूला लगानीकर्ताहरुलाई हातमा लिएर ५८ नम्बर ब्रोकरले सेयर कर्नरिङ गरिरहेको छ भन्ने खुलासा गरिरहेको छ । प्रत्येक दिनको तथ्याङ्कले(फ्लोरसिटमा उपलब्ध खरीदको आँकडा)ले यो कुरा पुष्टि गरिसकेको छ । 

५८ नम्बर ब्रोकर(नाशा सेक्युरिटिज)ले आफू निकटका ठूला लगानीकर्ताहरुलाई शिवमको सकेसम्म सेयर उठाउन उर्दी नै जारी गरेको रहेछ ।

यहीकारण यो ब्रोकरमार्फत मात्रै हरेक दिन शिवमको अधिक सेयर खरीद भयो । उसको सफल सेयर कर्नरिङका कारण योजना अनुसार नै मूल्य पनि बढ्यो । तर, यी विषय विभिन्न मिडियाहरुमा आउन थालेपछि ठूला सेयर खेलाडीहरु आफूले गरेको लगानीबाट मोटो रिटर्न आइसकेको निश्कर्षसहित बेचेर नाफा सुरक्षित गर्ने खेलमा लागेका छन्, सोमबार देखिएको अधिक बिक्री चापले पनि त्यही संकेत गर्छ । 

अरुबेला आक्रामक भई सेयर उठाइरहेका लगानीकर्ताहरुले ब्रोकर नम्बर ५८ मार्फत नै ठूलो परिमाणमा सेयर बिक्री गरेका छन् । 

स्रोतहरुका अनुसार बजारमा अहिले मूल्य बढेर उचाईमा पुगेको मौका छोपी ठूला लगानीकर्ताहरु बेच्न आक्रामक बनेका र साना तथा सोझा लगानीकर्ताहरु चाहि अझै यही कम्पनीको सेयर उठाइरहेका अनौठो दृश्य देखिएको छ । ‘यसैलाई भन्छन् सेयर कर्नरिङ गरी सोझा लगानीकर्तालाई फसाउने खेल ।’ एक जानकारले बिजशालासँग भने–‘हाकाहाकी सेयर कर्नरिङ हुँदा समेत नियामकहरु चूपचाप बसिदिंदा नेपालको सेयर बजारलाई जसरी पनि चलाउन सकिन्छ वा आफ्नो अनुकुल बनाउन सकिन्छ भन्ने सोंच राख्ने गिरोहहरुको मनोबल बढ्दै गएको छ ।’

सोमबारकै तथ्याङ्क हेर्दा समेत ५० वटा ब्रोकरमार्फत भएको कारोबारमा अधिकांश ब्रोकर शिवमको सेयर उठाउनतर्फ लागेका देखिन्छ भने ५८ नम्बरमार्फत चाहि अधिक बिक्री भएको देखिन्छ । यसले ठूला लगानीकर्ताहरुलाई परिचालन गरेको ५८ नम्बर ब्रोकर सेयर बिक्री गरी प्रफिट बुक गर्ने अभियानमा लागेको पुष्टि हुन्छ भने अन्य ब्रोकर भने घट्दो सेयर मूल्य रहेको कम्पनीको सेयर उठाइरहेका देखिन्छन् । 

पछिल्लो समय शिवम सिमेन्ट सेयर बजारको ‘हटकेक’ बनेको छ । यो कम्पनीको सेयर ५० वटै ब्रोकरमार्फत खरीदबिक्री हुनुले समेत यो कुराको पुष्टि गर्दछ । 

सोमबार यो कम्पनीको २५ करोड ५० लाख बढीको सेयर कारोबार भएको छ । जसमध्ये ब्रोकर नम्बर ५८ मार्फत मात्रै ८ करोड ८४ लाख बढीको सेयर बिक्री भएको छ । 

यो ब्रोकरमार्फत सोमबार १ लाख ३७ हजार २७२ कित्ता शिवमको सेयर बिक्री भएको छ । खरीद भने १३ हजार २९१ कित्ता मात्र भएको देखिन्छ । 

फ्लोरसिटका आधारमा तयार खरीद र बिक्रीतर्फको आँकडा हेर्दा अधिकांश ब्रोकरहरुमार्फत बिक्रीभन्दा खरीद बढी भएको देखिन्छ । तर, ब्रोकर नम्बर ५८ ले भने बिक्रीको तुलनामा न्यून कित्ता मात्र खरीद गरेको छ । यसको अर्थ एक लेभलको सेयर कर्नरिङ सफल भएको निश्कर्षसहित ठूला लगानीकर्ता शिवमको सेयर बिक्रीमा आक्रामक बन्न थालेका बुझिन्छ ।

खेल यस्तो पनि हुनसक्छ !
बजारका केही जानकारहरुले भने सेयर कर्नरिङबाट निश्चित प्रफिट बुक गरी जानाजान शिवमको मूल्य घटाउने उद्देश्यले नयाँ खेल  समेत खेलिएको हुनसक्ने अनुमान समेत गरेका छन् । 

सेयर कर्नरिङ गरी ठूलो कित्ता आफ्नो नियन्त्रणमा लिएपछि आफू अनुकूल बेच्ने र किन्ने गरी मूल्य आफू अनुकुल घटबढ गराइनसक्ने भएकोले शिवमको केसमा समेत यही कुरा लागू हुनसक्ने विज्ञको तर्क छ । 

‘कर्नरिङ भइरहेको कुरा तथ्यसहित तपाईहरुले बाहिर ल्याएपछि आफ्नोविरुद्ध तयार भएको जनमतलाई अन्यत्र मोडी केही समय मूल्य घटाउने हिसाबले समेत खेल भएको हुनसक्छ ।’ ती जानकारले भने–‘१६ दिनको अवधिमा १०० प्रतिशत भन्दा बढीले मूल्य बढिसकेपछि अहिले केही कित्ता बेचेर मूल्य घटाउने र केही समयपछि फेरि सस्तो मूल्यमा शिवमको सेयर उठाउने खेल पनि हुनसक्छ ।’ 

ती जानकारले यस्तो खेलप्रति सर्वसाधारण, नयाँ र सोझा लगानीकर्ता सचेत बन्नुपर्ने बताए । ‘यस्तो बेलामा ह्वीम वा हल्लाको पछि कोही पनि दौडिनुहुन्न ।’ ती जानकार भन्छन्–‘संयमित भएर लगानीको निर्णय लिनु नै बुद्धिमानी हुन्छ ।’

मार्केट फ्लोरसिटका आधारमा तयार गरिएको शिवम सिमेन्टको सोमबारको खरीदबिक्रीको आँकडा यसप्रकार छ :